उत्तर कोरियाद्वारा पनडुब्बीबाट व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपित



सोल,(एजेन्सी) ।

उत्तर कोरियाले मंगलबार पनडुब्बीबाट प्रक्षेपित हुने एउटा व्यालेस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरिएको पुष्टि गरेको छ । सरकारी समाचार निकाय केसीएनएले यस क्षेप्यास्त्रको नियन्त्रण निर्देशन प्रविधिहरू निकै विशिष्टखालको रहेको तथा यसलाई ट्रयाक गर्न निकै गाह्रो हुने बताएको छ । केही सातायता उत्तर कोरियाले धमाधम पारमाणविक हातहतियार बोक्ने सक्षम क्षेप्यास्त्रहरूको परीक्षण प्रक्षेपण गर्दै आएको छ ।

त्यस क्रममा हाइपरसोनक र लामो दूरीका क्षेप्यास्त्रहरू पनि प्रक्षेपण गरिएका छन् ।

संयुक्त राष्ट्र संघले उत्तर कोरियाको व्यालेस्टिक क्षेप्यास्त्र र पारमाणविक हतियार परीक्षण कार्यमाथि प्रतिबन्ध लगाएको छ । लामो दूरीको , निकै तीव्र गतिको तथा तुलनात्मक रूपमा धेरै खतरनाक पारमाणविक हतियार बोक्न सक्ने भएकाल व्यालेस्टिक क्षेप्यास्त्रलाई क्रुज क्षेप्यास्त्रभन्दा बढी खतरनाक मानिन्छ ।

उत्तर कोरियाले पछिल्ला क्षेप्यास्त्रका तस्वीरहरू सार्वजनिक गर्दै तिनीहरू अत्यन्तै सुचारु ढंगले उड्न र उफ्रिन पनि सक्ने जनाएको छ । सन् २०१६ को परीक्षणस्थलकै पुरानै पनडुब्बीबाट यसको प्रक्षेपण गरिएको बताइएको छ । यसपालिको परीक्षण कार्यक्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको उपस्थिति नरहेको जनाइएको छ ।

उत्तर कोरियाको पूर्वी भागमा रहेको सिन्पो वन्दरगाहबाट मंगलबार प्रक्षेपित सो क्षेप्यास्त्र अधिकतम ६० किमि उचाइ र करिब ४ सय ५० किमि दूरी तय गरेर सी अफ जापानको नामले पनि चिनिने इस्ट सीमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्