नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा



वासिंगटन,(एजेन्सी) ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै लगानीमा नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । गत वर्ष क्यापिटल हाउसमा भएको दंगाको दौडान आपत्तिजनक अभिव्यक्ति दिएवापत लोकप्रिय सामाजिक सञ्जालहरू ट्विटर र फेसबुकले आफ्नो आधिकारिक ‘एकाउन्ट’ हटाइदिएपछि उनले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

अमेरिकामा गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनका बेलामा तत्कालीन राष्ट्रपति ट्रम्पले आफंै भ्रम फैलाएको, सामाजिक सद्भावलाई असर पारेको लगायतका आरोप लगाउँदै ती सामाजिक सञ्जालहरूले उनको एकाउन्ट हटाइदिएका थिए । विशेष गरेर ट्रम्पका समर्थकहरूको भीड अमेरिकी संसद्भवनमा प्रवेश गरेको घटनापछि उहाँलाई ट्विटर र फेसबुकले आफ्ना सञ्जालहरूबाट हटाएका थिए । सो हिंसात्मक आक्रमणको दौडान एकजना प्रहरी अधिकारीलगायत पाँच जनाको ज्यान गएको थियो ।

ती सञ्जालहरूले आफूलाई हटाएपछि ट्रम्पले आफ्ना अपडेटहरू सार्वजनिक गर्न छुट्टै ब्लगजस्तै अनलाइन सञ्चालन गरेका थिए । तर, त्यो पनि केही समयपछि बन्द भएको छ । आगामी सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवारी दिने तयारीमा रहेका ट्रम्पले त्यसैलाई लक्षित गरेर नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्न लागेको जनाइएको छ ।

उनले सञ्चालन गर्न लागेको सामाजिक सञ्जालको नाम ‘ट्रुथ सोसियल’ राख्ने पनि तय भइसकेको उनले सचिवालयले जनाएको छ । ट्रुथ सामाजिक सञ्जालको सञ्चालन ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी) ले गर्ने भएको छ । ग्रुपको अध्यक्ष ट्रम्प आफै रहेका छन् । ट्रम्पले उक्त सामाजिक सञ्जाल प्रविधिसम्बन्धी ठूला कम्पनीहरूको अत्याचारविरुद्ध उभिने बताएका छन् । अहिले प्रभावशाली रहेका सामाजिक सञ्जालहरूले अमेरिकाका विद्रोही आवाजलाई स्थान नदिएको ट्रम्पको आरोप छ ।

ट्रुथ सामाजिक सञ्जालमा भिडिओ प्रसारण सेवा पनि समावेश गरिने भएको छ । भिडिओ सेवामा समाचार, पडकास्टलगायतका धेरै सुविधा उपलब्ध गराइने टीएमटीजीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्