अफगानिस्तानका लागि अमेरिकी विशेष दूतको राजीनामा



काबुल,(एजेन्सी)। 

अफगानिस्तानबाट अमेरिकी फौज फर्केको दुई महिना पुग्न नपाउँदै अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जालमे खलिलजादले राजीनामा दिँदैछन् । अमेरिकी फौज फर्काउनुमा उनको अहम भूमिका रहेको थियो । उनकै नेतृत्वमा अमेरिका र तलिवान लडाकु समूहबिच वार्ता भएको थियो । तर, महिनौं लामोसम्म चलेको सो वार्ताले तालिवानलाई सत्ता कब्जा गर्नबाट रोक्न सफलता पाउन सकेन ।

गत अगस्टमा अफगान राजधानी काबुल नियन्त्रणमा लिएपछि तालिवानले सम्पूर्ण अफगानिस्तान कब्जा गरेको थियो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले उनले राजीनामा पेस गरेको जानकारी दिंदै सोमबार भनेका छन् – ‘अब खलिलजादको कार्यभार थोमस वेस्टले सम्हाल्नेछन् । उनले दशकौंसम्म अमेरिकी जनतालाई उनले पु¥याएको सेवाका लागि म कृतज्ञता व्यक्त गर्दछु ।’

ब्लिन्केन समक्ष पेस गरिएको राजीनामा पत्रमा खलिलजादले लेखेका छन् – ‘अफगान सरकार र तालिवानबीचको राजनीतिक तालमेल सोचेजस्तो अघि बढ्न सकेन । यसका कारणहरू निकै जटिल छन् । आगामी दिनहरूमा म आफ्ना विचारहरू बाँड्दै जानेनै छु । अमेरिका नयाँ चरणको ‘हाम्रो अफगानिस्तान नीत’ मा प्रवेश गरेकाले म एकातिर पन्छिन लागेको हुँ । अफगान जनतालाई वर्तमान परिस्थिति भोग्न बाध्य गराइएकोमा म दुखित छु ।’

अफगानिस्तानमा जन्मेका सत्तरी वर्षीय खलिलजादा काबुलमा हुर्केका थिए । उनी सुरक्षासम्बन्धी नामुद कुटनीतिज्ञ हुन् । उनले पूर्व राष्ट्रपति त्रेय डोनाल्ड ट्रम्प, वाराक ओवामा र जर्ज डब्ल्यु बुसका कार्यकालमा विभिन्न ओहोदामा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्