चन्दास्वरूप पठाइएको केरासँगै कराडौंको कोकिन



ह्युस्टन,(एजेन्सी) ।

अमेरिकाको टेक्सासस्थित आपराधिक न्याय विभागलाई चन्दास्वरूप पठाइएको केराको पैंतालिसवटा बाकसभित्र झण्डै १ करोड ८० लाख डलर मूल्य बराबरको कोकिन फेला परेको छ । यस विभागलाई गल्फ अफ मेक्सिको नजिकको फ्रिपोर्टस्थित पोटर्स अफ अमेरिकाबाट चन्दास्वरूप प्राप्त ती केराका बाकसमा ५ सय ४० प्याकेट कोकिन लुकाइएको अवस्थामा फेला पारिएको हो ।

ती बाकस अपलोड गर्ने क्रममा शंका लागेर दुईजना सिपाहीले छानबिन गर्दा ती अवैध लागु औषधका पोका फेला परेको सो विभागले जनाएको छ । यस सम्बन्धमा अन्य विस्तृत विवरण बाहिर आएको छैन । लागु औषध नियन्त्रण निकाय, अमेरिकी भन्सार विभाग तथा सीमा रक्षा निकायले यस विषयमा गम्भीर अनुसन्धान गरिरहेको बताइएको छ । तर, घटनालाई सरसर्ती हेर्दा जेलमा रहेको कुनै कैदीलाई सो लागुऔषध पठाइएको जस्तै देखिन्छ । मेक्सिकोको सीमा हुँदै लामो समयदेखि अमेरिकीतर्फ यस्तो लागुऔषध तस्करी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्