सिलवाल बर्खास्तमा



नेपाल समाचारपत्र, काठमाडौं ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले गरेका निर्णय उल्टाउँदै आएको वर्तमान शेरबहादुर देउवाको सरकारले खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई पनि बर्खास्त गरेको छ । कात्तिक १ गते नै बर्खास्तगीको निर्णय भएको बुझिएको छ ।

सिलवाल माल्दिभ्समा नेपालको फाइनल खेल हेरेर नेपाल फर्कन नपाउँदै खेलकुद मन्त्रालयबाट बर्खास्तमा पर्नुभएको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले जनाएअनुसार सिलवाललाई योजनाअनुसार काम गर्न नसकेको हुँदा बर्खास्त गर्नुपरेको हो ।

सिलवाललाई स्पष्टीकरणको मौका दिएर नै बर्खास्त गरिएको हो । तर, मन्त्रालयलाई उहाँको जवाफ चित्तबुझ्दो नभएपछि बर्खास्त गरिएको जनाइएको छ । मन्त्री गहतराजका अनुसार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अन्तर्गत नयाँ सदस्य सचिव नियुक्त हुने र उनकै नेतृत्वमा नवौं राष्ट्रिय खेलकुद आयोजना हुनेछ । नयाँ ऐनअनुसार सदस्य सचिव हुन स्नातक तह उत्तीर्ण नेपाली नागरिक हुनुपर्छ, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव लिएको र प्रचलित कानुनले अयोग्य नठहरिएको हुनुपर्ने प्रावधान रहेको छ ।

सिलवाल गत वर्ष यही नयाँ ऐनअनुसार नै सदस्य सचिवमा नियुक्ति हुनुभएको थियो । करिब तीन वर्ष सदस्य सचिव पदमा समय बाँकी रहेका सिलवालले गत वर्ष साउन १२ गते दोस्रोपटक सदस्य सचिवमा नियुक्ति पाउनुभएको थियो ।

यसअघि, उहाँ २०७६ असार २३ गते सदस्य सचिव हुनुभएको थियो । गत वर्ष असार १८ गते खेलकुदमा नयाँ ऐन पारित भएपछि उहाँ पदमुक्त हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्