अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गराउने दूतले दिए राजीनामा



काबुल, (एजेन्सी) ।

अफगानिस्तानबाट अमेरिकी फौज फर्केको दुई महिना पुग्न नपाउँदै अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जालमे खलिलजादले राजीनामा दिनुभएको छ । अमेरिकी फौज फर्काउन खलिलजादको अहम् भूमिका रहेको थियो । उनकै नेतृत्वमा अमेरिका र तालिवान लडाकु समूहबीच वार्ता भएको थियो । तर, महिनौंसम्म चलेको सो वार्ताले तालिवानलाई सत्ता कब्जा गर्नबाट भने रोक्न सकेन ।

गत अगस्टमा अफगान राजधानी काबुल नियन्त्रणमा लिएको छोटो समयमै तालिवानले सम्पूर्ण अफगानिस्तान कब्जा गरेको थियो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले उहाँले राजीनामा पेस गरेको जानकारी दिँदै सोमबार भन्नुभयो– ‘अब खलिलजादको कार्यभार थोमस वेस्टले सम्हाल्नुहुनेछ । दशकौंसम्म अमेरिकी जनतालाई उहाँले पु¥याएको सेवाका लागि म कृतज्ञता व्यक्त गर्दछु ।’

ब्लिन्केनसमक्ष पेस गरिएको राजीनामा पत्रमा खलिलजादले लेख्नुभएको छ– ‘अफगान सरकार र तालिवानबीचको राजनीतिक तालमेल सोचेजस्तो अघि बढ्न सकेन । यसका कारणहरू निकै जटिल छन् । आगामी दिनमा पनि म आफ्नो अनुभवले समस्या सुल्झाउन सघाउनेछु । अमेरिका नयाँ चरणको नीतिमा प्रवेश गरेकाले म एकातिर पन्छिन लागेको हँुं । अफगान जनतालाई वर्तमान परिस्थिति भोग्न बाध्य गराइएकोमा म दुःखी छु ।’

अफगानिस्तानमा जन्मेका ७० वर्षीय खलिलजाद काबुलमा हुर्किनुभएको हो । उहाँ सुरक्षासम्बन्धी नामुद कूटनीतिज्ञ मानिनुहुन्छ । उहाँले पूर्वराष्ट्रपति त्रय डोनाल्ड ट्रम्प, बाराक ओबामा र जर्ज डब्ल्यु बुसको कार्यकालमा विभिन्न ओहोदामा रहेर काम गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्