दुवै मात्रा खोप लगाएका पावेलको ‘कोभिडकै कारण’ निधन



काठमाडौं, (नेस) ।

अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावेलको कोभिडका कारण आइतबार निधन भएको समाचारसँगै विश्व तरंगित भयो– ‘कोभिडविरुद्ध खोप लगाएका व्यक्तिको मृत्युको अर्थ खोपको असफलता हो !’

अमेरिकी स्वास्थ्य निकायले मंगलबार प्रतिवाद गर्‍यो– ‘पावेलको निधनले खोपको अक्षमता पुष्टि गर्दैन ।’ ८४ वर्षको उमेरका पावललाई कोरोना भएकाले उनको मृत्युको ‘कारण’ मा प्रतिवाद गर्दै तर्क दिइएको छ– ‘कोरोना लेखिनु प्राविधिक पक्ष मात्र हो ।’

कोभिड संक्रमणको कारण पावेलको निधन भएको उनको पारिवारिक सूत्रले जनाएपछि कोरोना विरुद्धको खोप नलगाउने समूहले ‘हामीले त पहिला नै भनेका थियौं’ भनेर विजयीभाव प्रकट गरेका थिए ।

राजनीतिक क्षेत्रमा आउनुअघि पावेल उच्च पदस्थ सैनिक अधिकारी थिए । रिपब्लिकन जर्ज डब्ल्यू बुसको कार्यकालमा सन् २००१ मा उहाँ पहिलो अफ्र्रिकी–अमेरिकी विदेशमन्त्री बन्नुभएको थियो ।

पावेलको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘हामीले एक प्रिय पति, पिता, हजुरबुबा र एक महान् अमेरिकी नागरिक गुमाएका छौं । उहाँको उपचारमा संलग्न चिकित्सक टोलीलाई हामी धन्यवाद दिन चाहन्छौं ।’

पावेलले कोरोनाविरुद्धको दुवै मात्रा खोप लिएको बताइएको छ । नरमपन्थी रिपब्लिकन पावेलले सन् २००८ मा बाराक ओवामालाई समर्थन गर्न पार्टी छाड्नुभएको थियो । उहाँ थुप्रै प्रभावशाली अमेरिकी राजनेताका विश्वासिलो सैनिक सल्लाहकार हुनुहुन्थ्यो । सैनिक सेवाको क्रममा भियतनाम युद्धमा घाइते भएका पावेल कम विवादास्पद राजनीतिज्ञ मानिनुहुन्छ ।

स्वास्थ्यकर्मीहरुको तर्क छ, कोरोनाविरुद्धको खोपको सफलताकै कारण आज अमेरिकाको ठूलो जनसमुदाय मास्कसम्म नलगाई सार्वजनिक ठाउँमा समेत गतिविधि गर्नपाइरहेको छ, खोप असफल भएको भए यो सब सम्भव थिएन । पावेलको दृष्टान्त दिएर खोपप्रति अविश्वास सिर्जना गर्नु कसैको हितमा हुनेछैन, वास्तविकता त्यो होइन । खोपको सफलता शतप्रतिशत हुन्छ भनेर कसैले दाबी नगरेको, बढीमा ९० प्रतिशतसम्म सफलताको प्रतिवद्धतालाई पावेलको निधनले खण्डन गर्न सक्तैन ।

प्रतिक्रिया दिनुहोस्