संगीत अधिकार व्यवस्थापन र लाइसेन्सिङ सेवा शुरू



नेपाली फिल्म, गीतसंगीत, कला तथा संस्कृतिको अन्तर्राष्ट्रिय प्रवद्र्धन र बजार व्यवस्थापन गर्दै आएको कम्पनी नेप्सिनेले राजधानीमा एक कार्यक्रमबीच संगीत अधिकार व्यवस्थापन र लाइसेन्सिङ सेवाको औपचारिक शुरुआत गरेको छ। नेपालमै पहिलोपटक शुरुआत गरिएको यो सेवाले गीत तथा संगीतका रचना अनि निर्माणमा प्रमुख भूमिका खेल्ने गीतकार, संगीतकार, निर्माता, प्रस्तोता तथा प्राविधिकहरूको हक, अधिकारको उचित व्यवस्थापन गर्दै, नेपाली गीत संगीतको सार्वजनिक वा व्यवसायिक प्रयोग गर्ने प्रयोगकर्तालाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने नेप्सिनेका संंस्थापक एवं कार्यकारी प्रमुख रायन रेजले दाबी गरे। गीत तथा संगीतको व्यवसायिक या सार्वजनिक प्रयोग गर्दा सरोकारवाला अधिकार धनीको अनिवार्यरूपमा अनुमति लिएर संगीत रोयल्टी बुझाउनुपर्ने अन्तर्राष्ट्रिय नियम भए पनि, प्रयोगकर्ताले यसको पालना नगरेको अवस्थालाई परिवर्तन गर्न र नेपाली संगीत तथा कलाकर्मीको अधिकार स्थापित गर्न संगीत लाइसेन्सिङ सेवाको शुरुआत गरिएको नेप्सिनेले जनाएको छ।

कार्यक्रममा विभिन्न विधाका एक सय ५० भन्दा बढी स्रष्टालाई सम्मान गर्दै विभिन्न देशबाट विगत तीन महिनामा संकलन गरिएको रोयल्टी पनि वितरण गरिएको थियो। रोयल्टी प्राप्त गर्नेमा रञ्जित गजमेर, कुसुम गजमेर, शम्भुजित बासकोटा, तुलसी घिमिरे, राजेन्द्र थापा, विप्लव प्रतिकदेखि नयाँ पुस्ताका अर्जुन पोखरेल, वसन्त सापकोटा, राजनराज शिवाकोटी, दीपक शर्मा, हरि लम्साल, विपिन किरण, बाबु बोगटी, वसन्त थापा, विजय लामा, अमृत गोले लामा, अनिता चलाउने, विश्व नेपाली, चक्र बम, दिग्गज द्यौराली, डीपी खनाल रहेका छन्। त्यस्तै, रामचन्द्र काफले, गोविन्द गैरे, हिमांशु रायमाझी, कमल खत्री, किरण भुजेल, किशन रेग्मी, कृष्ण काफले, लेखु सहयात्री, लोकराज अधिकारी, मदन सेञ्चुरी, मानष राज, नरेश बिसी, नवराज कलाउनी, निशा शर्मा अर्याल, राजेन्द्र भट्ट, राजेन्द्र रिजाल, रकेन म्युजिक, सरोज साजन श्रेष्ठ, शंकरलाल थापा, सुभाष भुसाल, सुदीप लम्साललगायतलाई पनि रोयल्टी प्रदान गरिएको थियो।

आफ्ना सिर्जना सर्वाधिक लोकप्रिय भई विश्वव्यापीरूपमा निरन्तर भोगचलन हुँदाहुँदै पनि आर्थिक तथा सामाजिक समस्यामा उझेलिनुपर्ने सर्जकका कारुणिक अवस्थाको अन्त्य गर्दै, नेपाली कला र सांगीतिक क्षेत्रलाई समय सुहाउँदो विकासको बाटोतर्फ लैजाने नेप्सिनेको मुख्य उद्देश्य रहेको नेप्सिनेका प्रमुख सञ्चालक अधिकृत विधान कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्