वाराहीलाई अन्तर्राष्ट्रिय अमूर्त सम्पदा पुरस्कार



ललितपुर, (नेस) ।

रातो मच्छिन्द्रनाथ बनाउन ५५ वर्षदेखि संलग्न रहेका वाराही नाइके दिलकुमार वाराहीलाई यस वर्षको अन्तर्राष्ट्रिय अमूर्त सम्पदा पुरस्कार प्रदान गरिएको छ  ।

कोरियाको झेन्जु शहरमा बिहीबार सम्पन्न समारोहमा उहाँलाई झेन्जु अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको हो । कोरोनाको संक्रमणका कारण अनलाइनमार्फत उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कारको नगद राशी १० हजार डलर अर्थात् ११ लाख रुपियाँभन्दा बढी रहेको छ ।

कोरियाको झेन्जु नगरले अमूर्त संस्कृति सम्पदा संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिहरूलाई वर्षेनी सो पुरस्कार दिँदै आएको छ । नेपालीले सो पुरस्कार पाएको यो पहिलोपटक हो ।

वाराही रातो मच्छिन्द्रनाथ रथको काठको संरचना बनाउने बाराही नाइके हुनुहुन्छ । सो पुरस्कार ताजिकिस्तानका डा. सिरिन्बेक दाभ्लाटमामाडोभ र इटलीया एल फेल्जलाई पनि प्रदान गरिएको थियो । वाराही नाइकेलाई सो पुरस्कार दिन डा. मोनालिसा महर्जनले विशेष पहल गर्नुभएको थियो । नेपालको सम्पदा विषयमा विद्यावारिधि गर्नुभएका महर्जनले सो पुरस्कारका लागि वाराही कामसम्बन्धी विवरणहरू कोरियाको सम्बन्धित संस्थामा पठाउनुभएको थियो । सो पुरस्कारका कारण संस्कृति र सम्पदा क्षेत्रमा काम गर्ने मानिसहरूलाई विशेष प्रोत्साहन मिल्ने डा. महर्जनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्