आकाश र पूजाको बिहे भाछैन



नायक–नायिका आकाश श्रेष्ठ र पूजा शर्माको डान्सिङ नम्बर भिडियो सार्वजनिक भएको छ।

विजयादशमीको अवसर पारेर आकाश र पूजाले जोशका साथ क्लबमा नृत्य गरेको बिहे भा छैन बोलको डान्सिङ नम्बरको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीत म्युजिक भिडियोसहित संगम सिने आर्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। यसको म्युजिक भिडियो सार्वजनिक भएलगत्तै दुई लाख ६० हजार बढीले हेरिसकेका छन् भने दर्शकले यसको तारिफ गर्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरिरहेका छन्।

तमकझमकका साथ डान्स क्लबमा खिचिएको गीतको म्युजिक भिडियोलाई यसका निर्देशक तथा लोकप्रिय कोरियोग्राफर कविराज गहतराजले फिल्मी गीत शैलीको रूप दिएका छन्। उनले आकाश र पूजालाई भरपूर मनोरञ्जनात्मक शैलीले प्रस्तुत गरेका छन् भने दीपकराज सुनारले त्यस्तै ढंगले नचाएका छन्। पारस कायस्थको कन्सेप्टमा तयार भएको म्युजिक भिडियोमा छायांकन सुदीप बराल, सम्पादन अर्जुन बिसी र भीएफएक्स सत्यम राणाको रहेको छ।

गीतमा शब्द रचना एसपी सापकोटाको रहेको छ। संगम बुक्स पब्लिकेसनका अध्यक्षसमेत रहेका उनले यसअघि एकै घरका सन्तान हामी, हिजोसम्म नसोचेको जीवन पाएँ आज, सबको भलो कर्म गर्न पाए हुन्थ्यो, मान्छेबाट मान्छे निचाजस्ता सार्थक गीतहरू रचना गरी बजारमा ल्याइसकेका छन्। कर्म नामक एल्बममा संग्रहित यो गीत अर्जुन सुनाम र सिर्जु अधिकारीले गाएका छन्। संगीत हरि लम्साल र संगीत संयोजन सरोज श्रेष्ठको रहेको छ।

गीतकार सापकोटाले चाडबाडमा नाचगान गरेर रमाउन चाहनेहरूका लागि यो गीत राम्रो कोसेली हुने बताए। त्यसैगरी, म्युजिक भिडियोका निर्देशक कविराज गहतराजले गीत डान्सिङ शैलीको भएकाले म्युजिक भिडियो पनि सोहीअनुसार तयार पारिएको बताए।

प्रतिक्रिया दिनुहोस्