तुर्केलीले खोजीदलमा बसेर आफैँलाई खोजीरहे !



इस्तानबुल,(एजेन्सी) ।

बेपत्ता रहेको सूचीमा रहेका एकजना तुर्केलीले थाहा नपाएर आफूलाई खोज्ने टोलीमा आफैं सरिक भएका छन् । स्थानीय सञ्चार माध्यमले उत्तर पश्चिमी टर्कीको बुर्सा प्रान्त इनेगोल जिल्ला निवासी बेहान मुत्लु नामक व्यक्ति गत मंगलबारदेखि हराइरहेको विशवास गरिएको थियो । डेली सावाह वेवसाइटका अनुसार एउटा जंगलमा रक्सीले मात्तिएको अवस्थामा उनी साथीहरूबाट अचानक छुट्टिएका थिए ।

घण्टौँसम्म पनि कसैको सम्पर्कमा नआएपछि उनका साथी र परिवारका सदस्यहरूले प्रहरीसमक्ष उनी हराइरहेको उजुरी गरेका थिए । तर, केही समयपछि ती पचास वर्षीय मुत्लु स्थानीय प्रशासनसँग मिलेर आफूलाई जंगलमा खोजिरहेको एउटा टोलीमा सम्मिलित हुन पुगे । निकै हाँसोलाग्दो घटना त त्यतिबेला घट्यो, जुनबेला खोजी टोलीका सदस्यहरूले चिच्याएर उनको नाम लिएर बोलाउँदा सँगै रहेका उनले, ‘म यहाँ छु’ भने ।

सरकारी टेलिभिजनका अनुसार सुरक्षाकर्मीहरूले उनलाई गाडीमा राखेर घर पुर्‍याउनुअघि उनीसँग विस्तृत बयान लिएका थिए । तर, उनले यस घटनालाई लिएर कुनै सजाय भोग्नुपर्छ वा पर्दैन भन्ने स्पष्ट गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्