पाकिस्तानमा भूकम्प, बीस जनाको मृत्यु



इस्लामावाद, (एजेन्सी) ।

पाकिस्तानको दक्षिणी बालुचिस्तान प्रान्तमा बिहीबार सबेरै आएको शक्तिशाली भूकम्पमा कम्तीमा बीसजना मानिसको ज्यान गएको सरकारी अधिकारीहरूले बीबीसीलाई बताएका छन् । थुप्रै भौतिक पूर्वाधार तहसनहस भएकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ । अन्तर्राष्ट्रिय समाचार निकाय रोयटसकाअनुसार मारिनेमा अधिकांश महिला तथा बालबालिका रहेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणअनुसार ५ दशमलव ९ रेक्टरस्केलको सो भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा ९ किलोमिटरमुनि रहेको जनाएको छ । कम गहिराईमा केन्द्रविन्दु हुने भूकम्पले धेरै क्षति पुर्‍याउने गर्दछ ।

स्थानीय अधिकारीहरूले बीबीसी उर्दूलाई कम्तीमा १ सय अन्य घाइते भएको तथा तिनीहरूमध्ये धेरैलाई चिन्ताजनक अवस्थामा अस्पताल पुर्‍याइएको बताएका छन् । उद्धार कार्य जारी रहेको तथा सैनिक डाक्टर तथा अन्य स्वास्थ्यकर्मी पनि घटनास्थलमा सेवामा जुटिरहेको स्थानीय सञ्चार माध्यमले जनाएको छ । थुप्रै गम्भीर घाइतेलाई पाकिस्तानी सेनाको हेलिकोप्टरहरूमा राखेर उपचारका लागि प्रान्तीय राजधानी क्वेटा पुर्‍याएको छ ।

भूकम्पका कारण २ सय वटाभन्दा बढी माटोले बनेका घरहरू ढल्नुका साथै अन्य थुप्रै पक्की भवन पनि क्षतिग्रस्त भएका छन् । ट्विटरमार्फत समवेदना प्रकट गर्ने क्रममा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बालुचिस्तानको हारनाइमा भूकम्प पीडितलाई तत्काल सहयोग, राहत र क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्