रहेनन् रामायणका रावण



हालसम्मकै सर्वाधिक लोकप्रिय सिरियल ‘रामायण’मा रावणको भूमिकाबाट प्रसिद्धि कमाएका भारतीय अभिनेता अरविन्द त्रिवेदीको हृदयघातबाट निधन भएको छ।

मंगलबार राति हृदयघातका कारण शरीरका केही भागले काम गर्न छोडेपछि बुधबार बिहान ८२ वर्षीय त्रिवेदीको मुम्बईस्थित निवासमा निधन भएको उनको भतिज कौस्तुव त्रिवेदीले पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय टेलिभिजन च्यानल दूरदर्शनमार्फत सन् १९८७ देखि प्रसारण भएको लोकप्रिय धार्मिक सिरियल ‘रामायण’का रावण उनी करिब तीन वर्षदेखि खराब स्वास्थ्य अवस्थासँग लड्दै आएका थिए।

गुजराती फिल्म क्षेत्रमा चार दशक काम गरेका उनले करिब तीन सय हिन्दी एवं गुजराती फिल्ममा अभिनय गरे पनि ‘रामायण’मा निर्वाह गरेको रावणको भूमिकाबाट लोभलाग्दो लोकप्रियता कमाएका थिए। निर्देशक रामनन्द सागरले दूरदर्शन टेलिभिजनका लागि ‘रामायण’ निर्माण गर्न लागेको खबर सुुनेपछि उनी रामायणका अर्का पात्र केवटको भूमिकाको लागि अडिसन दिन पुगेका थिए। निर्देशक सागरलाई त्यतिबेला रावणको चरित्र निर्वाह गर्ने व्यक्ति खोज्न निकै कठिन परिरहेको थियो। उनी दमदार अभिनय मात्र होइन, उक्त चरित्रका लागि सुहाउँदो व्यक्तित्व भएको कलाकारको खोजीमा थिए। अरविन्दमा त्यो खुबी देखेका रामानन्दले उनलाई रावणको भूमिकाका लागि प्रस्ताव राखेका थिए। तर, अरविन्द एक धार्मिक प्रवृत्तिको मानिस भएकाले रावणको भूमिका निर्वाह गर्न संकोच मान्दै शुरूमा उनले सो भूमिका अस्विकार गरेका थिए। निर्देशक रामानन्दको लामो प्रयासपछि उनी रावणको भूमिका निर्वाह गर्न तयार भएका थिए। रावणको भूमिकाका लागि केवल अभिनय मात्र नभई अहंकारको भाव पैदा गर्नु मुख्य चुनौतीको विषय थियो, जुन अरविन्दले निकै राम्रो तरिकाले निर्वाह गरे। हाउभाउ, डाइलग र डाइलग डेलिभरीका कारण उनको लोकप्रियताले उचाइ पाएको थियो। ‘रामायण’मा उनको भूमिका क्रुर र अहंकारी लागे पनि यो नै उनको अभिनयको दम थियो। रामायणका कारण उनको लोकप्रियता यतिसम्म थियो कि उनलाई भारतीय जनता पार्टीले सन् १९९१ मा गुजरातबाट टिकटसमेत दिएको थियो। उक्त चुनावमा अरविन्दले भारी मतसहित जित हासिल गरेका थिए।

प्रायः सामाजिक एवं पौराणिक फिल्ममा अभिनय गरेका उनले लोकप्रिय टेलिभिजन शो ‘विक्रम और बोतल’मा पनि अभिनय गरेका थिए। सन् १९९८ मा रिलिज भएको गुजराती फिल्म ‘देश रे जोया दादा परदेश जोया’मा उनले दादाजीको भूमिका निर्वाह गरेका थिए। उक्त फिल्मको सफलताले त्यतिबेलाका फिल्मका धेरै रेकर्ड तोडेको थियो। १९३८ मा जन्मेका अरविन्द सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनका अध्यक्षसमेत रहेका थिए।

प्रतिक्रिया दिनुहोस्