बिरालोका नाममा वसियतनामा छाडियो



सेन्ट पिटसवर्ग,  (एजेन्सी) ।

रसियाको दोस्रो ठूलो शहर सेन्ट पिटर्सवर्गस्थित विश्व प्रख्यात आर्ट ग्यालरी हर्मिटेज म्युजियमको भूमिगत तल्लामा बस्ने बिरालोहरूका लागि एकजना फ्रेन्च डाक्टरले ३ हजार युरो छाडेका छन् । सो म्युजियमको प्रेस सेवाले केही समयअघि मात्र बिरालोको नाममा वसियतनामा छाडिएको जानकारी पाएको र अहिले यससम्बन्धी सम्पूर्ण कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको जनाएको छ ।

५१ वर्षको उमेरमा निधन भएका फ्रेन्च डाक्टर क्रिस्टोफे बाटार्डले यरी बिरालोको कल्याणका लागि आफ्नो रकम छाडेका हुन् । हर्मिटेजका निर्देशक मिखाइल पिट्रोभ्स्कीले भनेका छन्, ‘हाम्रा फ्रेन्च शुभचिन्तकले मर्नुअघि ठूलै पुण्यको काम गरेर जानुभएको छ । यो पैसा ती बिरालोहरू बस्ने भूमिगत तल्लाको सुधारका लागि खर्च गर्नेछौं । अठारौं शताब्दीदेखि नै हर्मिटेजमा बिरालोहरू बस्ने गरेको प्रमाण पाइएको छ । रसियाको पूर्व राजधानीमा रहेको यो हर्मिटेज तत्कालीन सम्राटको निवासको रूपमा प्रयोग हुने गर्दथ्यो भने यसलाई ‘विन्टर प्यालेस’ भनिन्थ्यो ।

सन् १७४५ मा सेन्ट पिटर्सवर्गका संस्थापक सम्राट पिटर दि ग्रेटकी साम्राज्ञी एलिजावेथ प्रथमले प्यालेसमा मुसाको विगविगी अन्त्य गर्न प्यालेसमा बिरालो ल्याएर राख्न आदेश दिएकी थिइन् । अहिले हर्मिटेजमा झण्डै ७० वटा बिरालो बस्ने गरेका छन् । पश्चिमी मुलुकहरूमा बिरालो तथा कुकुर लगायतका पाल्तु जनावरहरूलाई मानिसहरूले आफ्नो शेषपछि सम्पत्ति छाडेर जाने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्