कोलम्बियाका उपराष्ट्रपतिको भ्रमणले नयाँ दिल्ली–बोगोटा सम्बन्धलाई गतिशीलता प्रदान



इन्डियन न्युज नेटवर्क ।

भारतीय विदेश मन्त्रालयले आइतबार जारी गरेको एक विज्ञप्ति अनुसार अक्टोबर महिनाको १ तारिखदेखि तीन दिने भारत भ्रमणमा आउनु भएकी कोलम्बियाका उपराष्ट्रपति र परराष्ट्र मन्त्री मार्ता लुसिया रामिरेजको औपचारिक भ्रमण सम्पन्न भएको छ ।

उहाँको भ्रमणका क्रममा उहाँसँगै स्वास्थ्य तथा सामाजिक सुरक्षा मन्त्री डा. लुइज फर्नान्डो रुइज, सरकारी अधिकारीहरू, निजी कम्पनीहरू र शैक्षिक संस्थाहरूका प्रतिनिधिहरू पनि भारत आएका थिए ।

गत साता शुक्रबार भारतीय उपराष्ट्रपति वैंकैया नायडु र रामिरेजबीच भेट भएको थियो । सो क्रममा दुवै पक्षले धेरै क्षेत्रमा द्विपक्षीय सहयोगको बारेमा विचार आदान प्रदान गरेका थिए ।

कोलम्बियाका उपराष्ट्रपति रामिरेजले भारतीय समकक्षी नायडुलाई कोलम्बिया भ्रमणको निम्तो दिएकी छिन् ।

शनिबार, विदेश मन्त्री डा. एस जयशंकर र रामिरेज बीच एक व्यापक द्विपक्षीय वार्ता आयोजित भएको थियो । विदेश राज्यमन्त्री मीनाकाशी लेखीले सन् २०२१ अक्टोबर महिनाको ३ तारिखमा रामिरेजलाई भेटेकी थिइन् । सो क्रममा दुवै पक्षले धेरै फलदायी छलफल गरेका थिए ।

कोलम्बियाका उपराष्ट्रपतिले विज्ञान र प्रविधि मन्त्रालयका साथै भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का वरिष्ठ अधिकारीहरूसँग जैविक प्रविधि, सह उत्पादन र खोप तथा औषधि उत्पादनहरूको विकासमा प्रविधि हस्तान्तरणसम्बन्धी सहयोगका लागि छलफल गरेकी थिइन् । त्यसै सन्दर्भमा कोलम्बियाली समकक्षीको उपस्थितिमा जैविक उद्योग र चिकित्सा अनुसन्धानका क्षेत्रमा सहयोगका लागि दुई सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।

उपराष्ट्रपति रामिरेजको आगमन पूर्व व्यापारिक प्रतिनिधिमण्डलसहित स्वास्थ्य र सामाजिक सुरक्षा मन्त्री डा. लुइज फर्नान्डो रुइज भारत भ्रमणमा आएका थिए । उनले सेप्टेम्बर महिनाको २७ देखि ३० तारिखसम्म भारतको पुणे, हैदराबाद र बेंगलोर शहरको भ्रमण गरेका थिए ।
खोप र औषधि उत्पादनहरूको विकासमा सह उत्पादन र प्रविधि हस्तान्तरणको अवलोकन गर्न उनले यी शहरका मुख्य औषधि कम्पनी र केन्द्रको भ्रमण गरेका थिए । उनले इस्रो सुविधाको पनि भ्रमण गरेका थिए । सो क्रममा उनले न्यू स्पेस इंडिया लिमिटेड (एनएसआईएल) र ह्युमन स्पेस फ्लाइट सेन्टर (एचएसएफसी) का प्रतिनिधिहरूसँग भेट गरेका थिए ।

ल्याटिन अमेरिकामा कोलम्बिया भारतको मुख्य साझेदार मुलुक हो । महामारी अवरोधका बाबजुद भारत र कोलम्बियाबीच आर्थिक र वाणिज्य क्षेत्रमा द्विपक्षीय सम्बन्ध विस्तार भइरहेको छ । यसअघि भारतीय विदेश राज्यमन्त्री मीनाकाशी लेखीले सेप्टेम्बर महिनाको ४–६ तारिखसम्म कोलम्बियाको भ्रमण गरेकी थिइन् । यस भ्रमणले भारत कोलम्बियाबीचको द्विपक्षीय सम्बन्धको सुदृढीकरण र विविधीकरण गर्न थप योगदान पुर्‍याउनेछ ।

प्रतिक्रिया दिनुहोस्