यौन उत्पीडनमा परेका बालिबालिकालाई क्षतिपूर्तिको माग



पेरिस, (एजेन्सी) ।

नयाँ अनुसन्धानबाट फ्रेन्च क्याथोलिक चर्चमा हुने गरेको यौन उत्पीडनको रहस्य पर्दाफास गरेपछि पीडित पक्षले दोषीहरूलाई कारबाही गर्न माग गरेका छन् । सन् १९५० देखि सो चर्चको धार्मिक सेवामा कार्यरत व्यक्तिहरूले करिब २ लाख १६ हजार बालकालिका माथि यौन अत्याचार गरेको प्रतिवेदन हालै सार्वजनिक भएको हो । पीडितहरूमा अधिकांश बालक रहेको बताइएको छ ।

पोप फ्रान्सिसले अनुसन्धानबाट पत्ता लागेको वास्तविकता सुनेर निकै दुःख प्रकट गरेको भेटिकनबाट जारी गरिएको एउटा विज्ञप्तिमा जनाइएको छ । यस घटनामा पीडित भएकाहरूको संगठन ‘ला पारले लिवेरी’ (फ्रिड स्पिच) गठन गरेका फ्रान्स्वाँ डिभाउक्सले भनेका छन् – ‘भरोसा, नैतिकता र बालबालिकामाथि विश्वासघात भएको छ । पीडित सबैलाई यथोचित क्षतिपूर्ति दिनुपर्छ ।’

यसअघि नै फ्रेन्च चर्चले आगामी वर्षको शुरूदेखि नै पीडितहरूलाई आर्थिक सहयोग बाँड्ने योजना रहेको जनाएको थियो । प्रतिवेदनअनुसार पीडकको संख्या २ हजार ९ सयदेखि ३ हजार २ सय जना रहेका छन् । क्याथोलिक विद्यालयहरूमा शिक्षक शिक्षिकाबाट यौन शोषणमा परेकाहरूलाई पनि क्ष्तिपूर्ति दिन माग गरिएको छ । विश्वभरिका क्याथोलिक चर्चका पदाधिकारीहरूविरुद्ध यौन शोषणको आरोपहरू लगाइन थालेपछि फ्रान्समा यो अनुसन्धानअघि बढाइएको हो । विश्वका कैयन मुलुकमा यसअघि पनि पटक–पटक चर्चहरूमा हुने गरेका अवैध यौन प्रकरणहरू बाहिरिने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्