कोभिडका कारण मर्ने प्रत्येकलाई क्षतिपूर्ति दिइने



नयाँदिल्ली,(एजेन्सी) ।

कोभिड १९ का कारण मृत्युवरण गर्न पुगेका प्रत्येक नागरिकलाई क्षतिपूर्तिस्वरूप भारतीय रुपियाँ ५० हजार अर्थात् ६ सय ७४ अमेरिकी डलर दिने सरकारको निर्णयलाई भारतको सार्वोच्च अदालतले सोमबार सदर गरेको छ ।

वकिलहरूले भारतको दैवी प्रकोप व्यवस्थापन कानुनअनुसार कोभिड पीडितहरूका लागि क्षतिपूर्तिको माग गर्दै याचिकापत्र दायर गरेपछि सर्वोच्च अदालतले यो निर्णय दिएको हो ।

भारतमा अहिलेसम्म ४ लाख ४७ हजार जनाभन्दा बढी मानिसको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको आधिकारिक पुष्टि भइसकेको छ । तर, स्वास्थ्य विशेषज्ञहरू भने कोरोना महामारीमा यो तथ्यांकभन्दा दश गुणा बढीको मृत्यु भएको हुनुपर्ने विश्वास गर्दछन् ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीश एमआर शाहले क्षतिपूर्तिका लागि रिट पुर्‍याएर आवेदन दिएको एक महिनाभित्र मृतकका सम्बन्धित परिवारलाई क्षतिपूर्ति रकम भुक्तान गराइने जानकारी दिएका छन् ।

गत जुनमा याचिकापत्र दायर गर्नेहरूले कोभिड १९ पीडितका परिवारहरूलाई आवश्यक क्षतिपूर्ति दिलाउन अदालतको सहयोग खोजेका थिए ।

यसै गरी गत अगस्टमा प्रधानमन्त्रीको अध्यक्षता रहेको राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन निकाय (एनडीएमए) ले महामारी अझैसम्म समाप्त भइनसकेकाले क्षतिपूर्ति भुक्तानका लागि कति रकम छुट्याउनुपर्ने भन्ने स्पष्ट नभएको व्यहोरा सबै राज्यलाई पत्रमार्फत जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्