स्पर्श र न्यानोपनाबारे खोज गर्ने वैज्ञानिकद्वयलाई नोवेल पुरस्कार



वासिंगटन, (एजेन्सी) ।

कसरी मानव शरीरले सूर्यको किरणको न्यानोपना र प्रिय व्यक्तिको अंकमालको स्पर्श महसुस गर्छन् भन्ने विषयमा गरिएको अनुसन्धानका लागि वैज्ञानिकहरूलाई यस वर्षको चिकित्सा वा शरीर सञ्चालन शास्त्रका लागि नोवेल पुरस्कार दिने निर्णय गरिएको छ ।

संयुक्त राज्य अमेरिकाका डेविड जुलियस र आर्डेम पाटापोसियानलाई स्पर्श र तापक्रम सम्बन्धमा नयाँ उपलब्धिमूलक अनुसन्धान गरेवापत मेडिसिन वा फिजियोलोजीतर्फको सन् २०२१ को नोवेल पुरस्कार संयुक्तरूपमा प्रदान गरिने भएको छ ।

तिनीहरूले हाम्रो शरीरले स्नायु प्रणालीमा कसरी शारीरिक संवेदन विद्युतीय सन्देशहरूमा परिणत हुन्छन् भन्ने तथ्य पत्ता लगाएका हुन् ।

तिनीहरूको यस खोजको आधारमा पीडाको उपचारका नयाँ विधिहरू विकास हुनसक्ने विश्वास लिइएको छ । नोवेल पुरस्कार निर्णायक समितिका सदस्य थोमस पर्लम्यानले यो निकै महत्वपूर्ण र गहन आविष्कार भएको प्रतिक्रिया दिएका छन् ।

सान फ्रान्सिस्कोस्थित युिनभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक डेविड जुलियस खुर्सानी खाँदा हामीलाई किन पिरो हुन्छ भन्नेबारे अनुसन्धान गर्दै जाँदा यो ऐतिहासिक उपलब्धि हासिल भएको हो । उनल खुर्सानीको तापको स्रोतमाथि प्रयोग परीक्षण गरेका थिए ।

प्राध्यापकद्वय जुलियस र आर्डेम पाटापोसियानले कसरी मानिसले चिसो वा जाडो महसुस गर्छन् भन्ने पनि पत्ता लगाएका हुन् ।यी वैज्ञानिकलाई कुल पुरस्कार रकम ८ लाख ४५ हजार पाउन्ड दामासाही रूपमा वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्