ब्राजिलियन राष्ट्रपतिविरुद्ध विशाल प्रदर्शन



रियो दि जेनेरियो, (एजेन्सी) ।

राष्ट्रपति जाइर बोल्सोनारोविरुद्ध विरोध प्रदर्शन गर्न हजारौं ब्राजिलियन जनता ब्राजिलका शहरहरूका सडकहरूमा ओर्लेका छन् ।

ब्राजिलको आम निर्वाचन हुन ठ्याक्कै एक वर्ष बाँकी रहेका बेला भएको यस विरोध प्रदर्शनको आयोजना विपक्षी राजनीतिक पार्टी र ट्रेड युनियनहरूले गरेका हुन् ।

अधिकांश ब्राजिलियन जनता कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रपतिले चालेका कदमप्रति असन्तुष्ट रहँदै आएका छन् ।

अहिलेसम्म कोभिड १९ संक्रमणका कारण ६ लाख भन्दा बढी मानिसको ज्यान गइसकेको छ । शनिबार ब्राजिलका १ सय ६० वटा शहरमा विरोध प्रदर्शन भएको हो ।

भाल्डो ओलिभेरिया नामक एकजना प्रदर्शनकारीले एएफी समारचार निकायलाई भनेका छन् – ‘यस राष्ट्रपतिकै कारण विश्वमै ब्राजिल पिछडिँदै गइरहेको छ । अहिले मुलुकमा भोक, गरिबी र भ्रष्टाचार व्याप्त छन् ।

हामी प्रजातन्त्र जोगाउनका लागि यहाँ जमघट भएका छौं ।’ केही विधायकले राष्ट्रपति बोल्सोनारो विरुद्ध महाअभियोग लगाउन मत जाहेर पनि गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्