रसियाबाट अमेरिका पठाइएको ६५ लाख नक्कली डलर जफत



लसएन्जेल्स,(एजेन्सी) ।

अमेरिकाका भन्सार अधिकारीहरूले रसियाबाट एयर कार्गोमार्फत पठाइएको ६५ लाख मूल्य बराबरको नक्कली डलर र युरो बरामद गरेका छन् । सो पैसाको बाकसमा ‘एकाधिकारका लागि पैसा प्रयोग गर’ भन्ने वाक्यांश लेखिएको थियो ।

अमेरिकी संघीय अधिकारीहरूले अन्दाजी २२ करोड नक्कली नोट बजारमा रहेको र यस्तै रकम विशेषगरी आपराधिक क्रियाकलापलाई पोस्न प्रयोग हुने गरेको बताएका छन् । फिलाडेल्फियामा अमेरिकी भन्सार तथा सीमा गस्ती अधिकारीहरूले सो नक्कली रकम जफत गरेका हुन् ।

अमेरिकी भन्सार तथा सीमा रक्षा समूह (सीबीपी) ले रसियाबाट सो इन्टरनेसनल एयर कार्गोलाई शिकागो नजिकको एउटा स्थानमा पठाइएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

गत सेप्टेमबरमा पनि ३० लाख नक्कली अमेरिकी डलर जफत गरिएको थियो । सीबीपीले गत मंगलबार जफत गरिएको सो रकम गुप्तचर सेवालाई जिम्मा लगाइने जनाएको छ ।

नक्कली नोट आतंकवाद, वित्तीय जालसाजी र लागुऔषध तस्करीजस्ता आपराधिक कार्यमा खर्च गरिने गरेको भन्सार अधिकारीहरूले जनाएका छन् । अहिलेसम्म यस्ता नक्कली मुद्राको कारोबार गर्नेमध्ये एक तिहाइ जेल परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्