गर्भपतन अधिकारका लागि दशौं हजार मानिस सडकमा



वासिंगटन,(एजेन्सी) ।

संयुक्त राज्य अमेरिकाका सम्पूर्ण पचासवटै राज्यमा गर्भपतन अधिकारको समर्थनमा आयोजित र्यालीमा दशौं हजार मानिसको सहभागिता रहेको छ ।

टेक्सास राज्यमा गर्भपतनको पहुँचलाई निकै साँघुरो बनाइएपछि तिनीहरू व्यापक विरोधमा उत्रेका हुन् ।आ–आफ्नो इच्छाअनुसार गर्भपतन गर्न पाउने अधिकारका हिमायतीहरू सो संवैधानिक अधिकार हनन हुने आशंकाले त्रसित भएका छन् ।

केही महिनापछि मुलुकभरि गर्भपतनलाई वैधानिकता दिन सन् १९७३ मा गरिएको निर्णयविरुद्ध राखिएको मुद्दामाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

शुरूमा केही दर्जन प्रदर्शनकारी विरोधीहरूले र्याली भाँड्ने असफल प्रयास गरेका थिए । वासिंगटन पोस्ट अखबारका अनुसार ती विरोधीमध्ये एकजना ‘निर्दोष शिशुहरूका रगतले तिम्रा हातहरू लतपतिएका छन्’ भनेर चिच्याएका थिए, तर गाउँदै र ताली बजाउँदै गरेका विशाल प्रदर्शनकारी माझ उनको आवाज दबिएको थियो ।

विमिन्स मार्च नामक एक समूहले यो र्यालीको आयोजना गरेको हो । सन् २०१७ तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले यस समूहको उद्घाटन गरेलगत्तै यसले आयोजना गरेको पहिलो विरोध प्रदर्शनमा लाखौं मानिसको सहभागिता रहेको थियो ।

न्युयोर्क राज्यका दुई स्थानमा निस्केको र्यालीलाई सम्बोधन गर्दै गभर्नर क्याथी होचलले आफू गर्भपतन अधिकारका लागि संघर्ष गर्दा गर्दै थाकिसकेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्