साउदी नरेश ५ सय ६ टन कार्गोसहित इन्डोनेसिया जाँदै



रियाद,(एजेन्सी) । 

यसै साता साउदी अरेबियाका नरेश सलमान विन अब्दुल अजिज इन्डोनेसिया भ्रमणमा जाँदैछन् । तर, उनको भ्रमण हल्का भने हुने छैन । दि वासिंगटन पोस्टका अनुसार सलमानसँगै ५ सय ६ टन वजनको कार्गो हुनेछ ।

यो वजन वास्तवमा २ सय ४० वद्धा हात्ती वा ३ सय वटा कार बराबर हुन आउँछ । छयालिस वर्ष लामो अवधिपछि इन्डोनेसिया भ्रमण गर्न लागेका उनी पहिलो साउदी राजा भएका छन् ।

उनले यस भ्रमणमा आफूसँगै थुप्रै विलासिताका सामानहरू लगायत दुईवटा मर्सिडिज – बेन्ज एस ६०० लिमोजिन र दुईवटा विद्युतीय एलेभेटर पनि लाँदैछन् ।

एयरफ्रेइट कम्पनी पिटी जासा आन्गकासा सेमेस्टा (जेएएस) का अधिकारी आदजी गुनावानले साउदी प्रभावकारी ढंगले कार्गोको पारवहन चाँजोपाँजो मिलाउनका लागि कम्पनीले ५ सय ७२ जना कामदार प्रयोग गर्ने अंकारा समाचार निकायलाई बताएका छन् ।

दि जाकार्ता पोस्टका अनुसार सलमानसँगै १० जना मन्त्री, २५ जना राजकुमार र कम्तीमा १ सय जना सुरक्षाकर्मी लगायत करिब १ हजार ५ सय व्यक्ति संलग्न हुँदैछन् ।

सन् २०१५ मा नरेश सलमानले १ हजार व्यक्तिसहित फ्रान्सको भ्रमण गरेका बेला एउटा स्थानीय समुद्री किनारमा बिना अनुमति एउटा एलभेटर बनाउन खोज्दा फ्रेन्च राइभेरियाका स्थानीय मेयर रिसाएका थिए ।

प्रतिक्रिया दिनुहोस्