फिलिपिनी राष्ट्रपतिद्वारा राजनीतिबाटै संन्यास लिने घोषणा



मनिला, (एजेन्सी)

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफूले आगामी वर्ष आयोजना हुने चुनावमा उप राष्ट्रपति पदका लागि उम्मेदवारी नदिने बरू राजनीतिबाटै संन्यास लिने घोषणा शनिबार गरेका छन् । गत महिनामात्र उनले सन् २०२२ को चुनावमा उपराष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने बताएका थिए । फिलिपिन्सको संविधानअनुसार उनले राष्ट्रपतिको दोस्रो कार्यकालका लागि चुनाव लड्न पाउँदैनन् । अहिले आएर डुटेर्टेले थुप्रै फिलिपिनी जनताले आफूलाई योग्य नठानेका कारण आफू चुनावबाट पछि हट्न लागेको बताएका छन् ।

अधिकांश राजनीतिक विश्लेषकहरूले डुटेर्टेकी पुत्रीले राष्ट्रपति पदका लागि चुनावी उम्मेदवारी दिने अनुमान गरिरहेका बेला अचानक उनको यो घोषणा सार्वजनिक भएको हो । विवादास्पद एवम शक्तिशाली राजनीतिक व्यक्तित्वका रूपमा चिनिने डुटेर्टे सन् २०१६ मा सत्तामा पुगेका हुन् । उनले सत्ता सम्हाल्नासाथ मुलुकमा अपराध र लागु औषध कारोबारको अन्त्यका लागि ठूलो सुरक्षा अभियान चलाएका थिए ।

उनको सो ‘लागु औषध विरुद्धको युद्ध’ नामक अभियानमा प्रहरीलाई गैर न्यायिक ढंगले हजारौं व्यक्तिको ज्यान लिन प्रेरित गरिएको थियो । उनका आलोचकहरूले उनी सत्तामा रहुन्जेल हिंसा र हत्याको पछिमात्र लागेको आरोप लगाउने गरेका छन् ।

उनकी पुत्री सारा डुटेर्टे–कार्पियो अहिले दक्षिणी शहर डाभाओका मेयर छिन् । उनले यसअघि नै आफू उच्च पदका लागि चुनाव लड्ने मिश्रित सन्देश दिइसकेकी छन् । तर, गत महिना आपूm वा आफ्ना पितामध्ये एकजनाले मात्र चुनाव लड्ने सहमति भएकाले उनले आफू राष्ट्रपतीय पदका लागि चुनाव नलड्ने बताएकी थिइन् ।

एमनेस्टी इन्टरनेसनलका अनुसार डुटेर्टेले कार्यकाल सम्हालेको पहिलो छ महिनाभित्र मात्र प्रहरी वा अज्ञात सशस्त्र समूहको आक्रमणमा सात हजार जनाभन्दा बढी मानिसको ज्यान गएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्