राष्ट्रपति बाइडेनद्वारा प्यालेस्टाइनी समकक्षी भेट्न अस्वीकार



वासिंगटन,( एजेन्सी )

गत साता संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने सिलसिलामा अमेरिकामा रहेका प्यालेस्टाइनी राष्ट्रपतिले अमेरिकी समकक्षी जो बाइडेनसँग भेटवार्ताका लागि गरेको अनुरोध राष्ट्रपति भवन ह्वाइट हाउसले अस्वीकार गरेको अमेरिकी र प्यालेस्टाइनी सूत्रले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिद्वारा प्यालेस्टाइनी पक्षबाट बैठकका लागि गरिएको अनुरोध अस्वीकृत हुनु अस्वाभाविक छ । साथै यस घटनाले बाइडेनको विदेश नीतिमा इजरायली – प्यालेस्टाइनी विषयको महत्व कति कम रहेछ भन्ने पनि संकेत गरेको छ ।

धेरै साताअघि नै प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बास र उनका सहयोगीहरू न्युयोर्कमा यस महासभामा व्यक्तिगत रूपमा भाग लिने क्रममा बाइडेनसँगको भेटघाटको सम्भाव्यताबारे पनि विस्तृत छलफल गरेका थिए । ह्वाइट हाउसले प्यालेस्टाइनीहरूलाई बाइडेनले न्युयोर्कमा कुनै पनि द्विपक्षीय वार्तामा भाग नलिने साथै वासिंगटनमा पनि उनको यस्तै कुनै कार्यक्रम नरहेको बताएको हो ।

यसैकारण अब्बासले न्युयोर्क भ्रमण नगर्ने तथा महासभामा भाषणको भिडियो टेप पठाउने निर्णय गरेका थिए । ह्वाइट हाउसले सो अनुरोध अस्वीकार गरिएको बारे कुनै पनि टिप्पणी गर्न चाहेको छैन ।

प्रतिक्रिया दिनुहोस्