पेटबाट एक किलोभन्दा बढी पेचकिला, छुरा आदि निकालियो



भिल्नियस,(एजेन्सी)

चिकित्सकहरूले लिथुनियाका एकजना पुरुषको पेटबाट एक किलोग्रामभन्दा बढी किला, पेचकिला, नट र छुरी निकालेको स्थानीय सञ्चार माध्यमले शनिबार जनाएको छ । रक्सीको दुव्र्यसन त्यागेयता गत एक महिनादेखि उनले धातुबाट निर्मित वस्तुहरू निल्दै आएको चिकित्सकहरूले बताएका छन् ।

लिथुनियाको सरकारी रेडियो एलआटीका अनुसार क्लेइपेदा युनिभर्सिटी हस्पिटलरमा उनको पेटबाट शल्यक्रिया गरी निकालिएका केही वस्तु चार इन्चसम्म लामा रहेका छन् । शल्य चिकित्सक डा.सारुनास दाइलिदेनाले यसलाई निकै अनौठो घटनाको संज्ञा दिएका छन् ।

ती धातुका वस्तुहरू सबै निकाल्न चिकित्सकको समूहले तीन घन्टा लामो अथक मिहिनेत गरेको थियो । सहनै नसक्ने गरी पेट दुखेको अवस्थामा उनलाई एम्वुलेन्सबाट बाल्टिक सागरको तटमा रहेको सो अस्पताल ल्याइएको अस्पताल सूत्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्