थकित कार्यकर्ता, आरोपित नेता, दिकदार जनता



  • कपिल काफ्ले, काठमाडौं ।

‘ओलीजीसँग मेरो तुलना हुन सक्तैन, संविधान मिचीमिची सत्तामा बस्ने र अलिकति आलोचना हुनासाथ राजीनामा दिने म कसरी उस्तै–उस्तै हो ? लोकतान्त्रिक व्यवस्थाप्रति वितृष्णा जगाउन सुनियोजित रूपमा भएको गलत प्रचारबाट सचेत बनौं !’ –माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही समयअघि सम्पादकहरुको टिप्पणीमा प्रतिवाद गर्नुभएको थियो ।

‘पत्रकारहरुले मलाई खुब लखटे, तर वर्तमान शेरबहादुर सरकारले मनपरी गरे पनि आलोचना गर्दैनन् ।’ –एमाले अध्यक्ष केपी ओलीले सम्पादकहरुकै भेलामा गत साता असन्तुष्टि जनाउनुभयो । ‘संसदीय व्यवस्थाले नयाँ राजाहरु जन्मायो, नयाँ सामन्त सिर्जना ग-यो, राजा सच्चिएर आउँछन्, कम्युनिस्टहरुलाई सम्मान दिन्छन् भने हामी सहकार्य गर्न तयार छौं ।’ –पूर्वमाओवादी नेता मोहन वैद्यले अन्तर्वार्तामा बोलेको बोली आज ‘भाइरल’ भएको छ ।

यी तीन अभिव्यक्तिले राजनीतिक नेतृत्वको वर्तमान मानसिकता प्रस्ट पार्दछ भने पार्टी कार्यकर्तामा सिर्जना भएको निराशा र आलस्य हेर्न गोदावरीमा शुक्रबारदेखि सञ्चालन भएको एमालेको विधान महाधिवेशन हेरे पुग्छ । नयाँ बन्ने भनिएका विधान र नीतिप्रति दलकै कार्यकर्तामा पनि उत्साह छैन । नेताहरु मञ्चमा उभिनासाथ उनीहरुलाई निद्रा लाग्छ । आस्था नै नभएको मूर्तिलाई ढोग्ने हार्दिकता कसरी सिर्जना हुन्छ र ?

‘अध्यक्ष ओलीको देवत्वकरण गर्दै विशाल तस्वीर बनाउने र सजाउने प्रतिस्पर्धा भयो, भोलि नेतृत्वलाई नै दाम र चाकरी नगरी अवसर पाइने होइन, बेकारको औपचारिकता’, एक सहभागीले नेपाल समाचारपत्रलाई भने– ‘द्वन्द्वात्मक भौतिकवाद पोलेर खाइसके, आत्मालोचना गरेर सुधारका लागि तत्पर हुने मानसिकता नै छैन !’

यस प्रकारको निराशालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइसँग जोडेर हेर्दा संघीय लोकतान्त्रिक गणतन्त्र असफलतातिर अघि बढेको छ । अघि बढ्ने गतिमा पछिल्लो केही महिना निकै तीव्रता आएको छ । कुनै मुलुकलाई नियन्त्रणमा लिन चाहने विस्तारवादी, साम्राज्यवादी वा उपनिवेशवादीहरु त्यस मुलुकको नागरिकमा यस्तै अवस्था सिर्जना भएको ताकमा हुन्छन् । ब्रिटानिका विश्लेषण गर्छ– ‘आर्थिक विपन्नता र भ्रष्टाचारले जरजर मुलुक अस्तित्वको संकटमा हुन्छन् ।’

राजनीतिक दलका नेताहरुबीच अविश्वास, अर्काे पार्टीको नेता मात्र खराब तर, आफू असल, दोष र कमजोरी अरूको मात्र तर आफू भने इमानदार भन्दै प्रचारबाजी गर्ने, भाषणमा रमाउने प्रवृत्तिले नागरिकमा ‘राजतन्त्र नै ठीक थियो कि’ भन्ने भ्रम सिर्जना हुनु अस्वाभाविक होइन । तर, कसैले यस प्रकारको धारणा व्यक्त ग-यो भने गणतन्त्रवादी नेताहरु ‘अब हामी सच्चिन्छौं, त्यस्तो प्रतिगमनको सोच नबनाउनुस्’ भनेर सहमतिको बोली बोल्दैनन् ।

एक नेताले अर्को दलको नेतालाई मात्र होइन आफ्नै दलको नेतालाई पनि प्रशंसा र सम्मान गरेर बोलेको देखिन्न । शिष्टता र भद्रताको संस्कार नै शुरु भएन । पछिल्ला दुई दिनमा नेताहरुले बोलेका बोलीहरु ‘रिबाइन्ड’ गरेर सुनौंः ‘प्रचण्ड अस्थिर, अवसरवादी र विभाजनकारी नेता हुन् । प्रचण्डको सोच र व्यवहारप्रति सहमति देखाउन सकिन्न ।

माओवादी केन्द्र, मूलतः ‘प्रचण्ड’ का अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच र व्यवहारप्रति हाम्रो विमति छ’, ओली विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गर्दै भन्नुहुन्छ– ‘एमालेलाई पूर्वमाओवादीको भोट र जनमत चाहिएको छ, तर यी सबै काम प्रचण्ड र उनले नेतृत्व गरेको शक्तिलाई कमजोर र अलग–अलग नबनाई सम्भव छैन ।’

ओलीले दस्तावेजमा राजनीतिक अस्थिरता र अविकासका कारण प्रचण्ड र माधव नेपाल भएको दाबी गर्दै भन्नुभएको छ– ‘वाम गठबन्धन बनाएर हामीले चुनावमा उत्साहजनक परिणाम हासिल ग-यौं । तर, पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट भने कांग्रेससँग मिलेर सरकार बनाउने र नेकपा एमालेलाई एक्लो पार्ने प्रयास भयो, जुन अवसरवाद र अनैतिक राजनीतिको भद्दा अभिव्यक्ति थियो । मधेस केन्द्रित दलहरू संसद्को सबैभन्दा ठूलो दल एमालेलाई बाहिर राखेर सरकार बनाउन नहुने मान्यतामा उभिएपछि मात्रै प्रचण्डको बाध्यात्मक समर्थन नेकपा एमाले नेतृत्वको सरकारलाई प्राप्त भएको थियो ।’

यसै साता नेकपा एमालेका नेता शंकर पोखरेलले एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा ‘माधव नेपाल समूहले लगाएको घाटाको क्षतिपूर्ति माओवादीसँग असुल्ने’ भन्नुभएको छ । ‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटि माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् ।

उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौं भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन । यी जाली फटाहाहरुले अहिले हामीलाई हेप्न खोजेका छन्, तिनको सातो लिनुपर्छ ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबारको एक कार्यक्रममा भन्नुभएको छ ।

प्रचण्डले एमालेसँग पार्टी एकता गर्नु सही भएको बताउँदै तर केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरुले पार्टीभित्रैबाट विद्रोह गरेको स्पष्टोक्ति दिनुभएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली आत्मप्रशंसामा रमाइरहेको बताउनुभएको छ ।

गृहजिल्ला तनहुँ पुगेका पौडेलले ओलीमाथि तानाशाहको आरोप पनि लगाउनुभएको छ । ‘विधान अधिवेशनमा जताततै ओलीका फोटैफोटा राखिएका छन् । पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी कसैका तस्वीर छैनन्’, पौडेलले भन्नुभएको छ– ‘पानीका बोतलमा समेत फोटो टाँसेर बाँडिएको छ ।’

प्रतिक्रिया दिनुहोस्