वैरागीको गीति राग



सानैदेखि गीत–संगीतमा रुचि राख्ने सुमन वैरागी कलम चलाउँदै जाँदा गीत लेखनको क्षेत्रमा स्थापित नाम बन्न पुगेका छन्। स्कुले जीवनदेखि नै थुप्रै गीत, गजल र कविता लेख्ने र गाउँमा हुने रोधीमा प्रतिस्पर्धात्मक दोहोरी गाउँदै जाने सुमनलाई गीत रचनाको रागले यतिखेर स्थापित बनाएको छ। उनले गीतलेखनको औपचारिक शुरुआत भने २०५७ सालबाट गरे।

‘स्कुले जीवनमा गीत, कविता र गजल कसरी लेख्ने भन्ने यकिन थिएन। मनका भावना पोख्ने काम हुन्थ्यो, तर पूर्ण भयो कि भएन भनेर कसैलाई देखाउने ठाउँ थिएन’ सुमन सम्झन्छन् ‘जब गीति लेखनको केही नियम सिकेँ, त्यसपछि औपचारिकरूपमा लेखन यात्रालाई अगाडि बढाएँ।’ २०५९ मा दोहोरी एल्बम ‘आँसुको तलाउ’ बजारमा ल्याएका वैरागीले लेखेको गीत ‘नजलाइदेउ मुटु मेरो’ले स्रोतामाझ राम्रो छाप छोड्न सफल भयो। त्यसको सफलता सँगसँगै २०६८ सालमा रेकर्ड भएको गीत ‘तिमीले सधैं पीडा दियौ’बाट पनि उनले गीत लेखन शैलीका लागि प्रंशसा पाए। त्यसपछि, उनले ती गीतलाई समेटेर ‘साथी’ गीति एल्बम सार्वजनिकसमेत गरे। उनले ‘एउटै’ नामक फिल्मका लागि लेखेको ‘कस्तो भाग्य लेख्यौ दैव’ धेरैले रुचाएको गीतमा पर्छ भने फिल्म ‘काले दाइ’को ‘राइफलको सिरानी’ले पनि डिजिटल बजारमा सफलता हासिल गर्ने गीत बन्न पुग्यो। ‘सलल बगेको पानी’ बजारमा आएपछि उनको माग झनै बढ्दै गयो। उनका ‘चौतारीको बर एक्लै भयो’, ‘आफ्नो भाग्य’, ‘रुँदै–रुँदै गयौ’, ‘म त मान्दै मान्दिन”’, ‘नेपाल भएर नै’, ‘कस्तो भयो होला’, ‘हाम्रो धर्ती’, ‘भन्दै होलान् शहरमा’, ‘धेरै माया गर्छु भन्थ्यौ’, ‘तिम्रै लागि हो’, ‘प्रवासको पीडा’, ‘दसैैं आयो तिहार आयो’, ‘गालैको कोठीमा’, ‘मनको ताराले’लगायतका सयभन्दा माथिको संख्यामा रेकर्ड भएका छन्।

गीतभित्र सरलता खोज्ने सुमन गीतमा सरलता भयो भने स्रोताको मनभित्र बस्न सफल हुन्छ भन्ने सिद्धान्त पाल्छन्। उनको गीतमा पीडाबोध हुने गर्छ, माटो बोल्ने गर्छ र समाजको कथालाई प्रस्तुत गरिएको हुन्छ। ‘समाजको पीडा र माटोको मायासँगै समाजको कथा पस्किनु नै गीति लेखनको सबल पक्ष हो’ उनी भन्ने गर्छन्। हरेक विधाको गीत रचनामा उत्तिकै पोख्त उनले राष्ट्रिय भावको गीत ”‘नेपाल भएर नै म नेपाली बन्न पाछु’ बाट पाँचौं रापती म्युजिक अवार्डमा ‘उत्कृष्ट गीतकार’को अवार्ड चुमे। उनकै ‘प्रवासको पीडाभित्र घरबासको दुःख, कहीँ गए नि भेटिएन धन फल्ने रुख’ बोलको गीतले ‘राष्ट्रिय वर्ष गीत’ पुरस्कार चुम्न सफल भयो। गीतकार संघले आयोजना गर्ने ‘राष्ट्रिय वर्ष गीत’ पुरस्कारमा उत्कृष्ट दशमध्ये उनको सो गीतले प्रथम स्थान हासिल गर्न सफल भएको हो। ५१ हजार रुपियाँ राशिको राष्ट्रिय पुरस्कार पाएसँगै सोही गीतले त्यो वर्ष अरू दुई अवार्डसमेत चुम्न सफल भयो। उनी यही गीतबाट ‘बक्स अफिस म्युजिक अवार्ड’ र ‘चौथो नेसनल क्यापिटल अवार्ड’मा ‘वर्षको सर्वोत्कृष्ट गीतकार’ बन्न सफल भए। त्यस्तै ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड’मा उनले ‘गालैको कोठी’मा बोलको गीतबाट ‘उत्कृष्ट गीतकार’को अवार्ड पनि चुमे।

दुई पटकसम्म संगीत रोयल्टी संकलन समाजको कार्यकारी सदस्य, गोरखा सांस्कृतिक समाजको अध्यक्ष, संगीत कला पत्रकार संघको अध्यक्ष, सयपत्री नेपाली सांस्कृतिक समूहको महासचिवलगायत विभिन्न संघसंस्थामा रहेर संगीत क्षेत्रको उत्थानका निम्ति क्रियाशील उनी गीत लेख्नु अगाडि कथा सोच्ने गर्छन्। वैरागीले लेखेका करिब तीन सयभन्दा बढी गीत डायरीमा सीमित छन्। यतिबेला भने एक सयभन्दा माथि एउटा गीति संग्रहमा रहने गरी पुस्तक प्रकाशनको तयारीमा जुटेका छन्। उनको कविता संग्रह ‘सर्वहारा सुकुम्बासी’, गीतिसंग्रह ‘आँसुको तलाउ’ र ‘साथी’ बजारमा आइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्