अन्तर्राष्ट्रिय श्रमिक दिवसमा प्रचण्डद्वारा श्रमिक अधिकार संरक्षणमा जोड


 काठमाडौं ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) का अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी नेपालीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले आठ घण्टा कार्यदिनको मागसहित अमेरिकाको शिकागोमा भएको ऐतिहासिक श्रमिक संघर्षको स्मरण गर्दै श्रमिक एकता र अधिकारको महत्व औंल्याउनुभयो।

संयोजक दाहाल प्रचण्डले श्रमिक वर्ग—विशेषतः किसान, मजदूर र सुकुम्बासी—का हक, हित र अधिकारको संरक्षणमा आफ्नो पार्टी सधैं प्रतिबद्ध रहने उल्लेख गर्नुभयो। साथै, श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा तथा श्रमिकमैत्री नीतिहरू कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको छ।

उहाँले ट्रेड युनियन अधिकार तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त श्रम अधिकारको संरक्षणमा कुनै पनि प्रकारको कमी हुन नहुने बताउँदै सरकारलाई जिम्मेवार र संवेदनशील बन्न आह्वान गर्नुभयो। अन्त्यमा उहाँले सम्पूर्ण श्रमिक वर्गप्रति पुनः सम्मान र ऐक्यबद्धता व्यक्त गर्नुभएको छ।