उत्तर कोरियाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण



सोल, (एजेन्सी) ।

उत्तर कोरियाले मंगलबार आफूले ह्वाङसोङ – ८ नामक एउटा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ ।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसीएनएले मुलुकको पाँच वर्षीय सैनिक विकास योजनाअन्तर्गतको नयाँ हतियार प्रणाली सूचीको यो पाँचवटा सबैभन्दा महत्वपूर्ण हतियारमध्ये एक रहेको जनाएको छ । प्योङयाङले यसलाई सामरिक हतियारको संज्ञा दिएको छ । यसको अर्थ यो पनि पारमाणविक हतियार बोक्न सक्षम छ ।

मंगलबारको यस क्षेप्यास्त्र परीक्षण प्रक्षेपणले संयुक्त राष्ट्र संघको कडा नाकाबन्दीका बाबजुद पनि उत्तर कोरिया हातहतियार प्रविधि विस्तारमा लागिरहेको संकेत दिएको छ । केसीएनएले आत्मरक्षाका लागि प्योङयाङले यस हतियार प्रणालीलाई विकास गरेको जनाएको छ ।
यसै महिनाभित्र मात्र उत्तर कोरियाले योसमेत तेस्रोपटक क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाली दूत किम सोङले अमेरिकाका न्युयोर्कमा जारी रहेको संयुक्त राष्ट्र संघको महासाभामा उत्तर कोरियासँग पनि हातहतियार विकास गर्ने अधिकार रहेको बताउँदै गरेकाबेला यो क्षेप्यास्त्र परीक्षण सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्