फोक्सो प्रत्यारोपण गराएका युवकलाई खोप नलगाएकोमा पछुतो



वासिंगटन,(एजेन्सी)  । 

गत अप्रिलमा कोभिड १९ को शिकार भएका अमेरिकाको जर्जिया निवासी एक युवकका दुवै फोक्सो प्रत्यारोपण गरिएका छन् । पच्चीस वर्षीय ब्लेक बार्गात्जेले बिरामी हुनुअघि खोप लगाएका थिएनन् । उनी भन्छन् – ‘ कोरोना भाइरसले मेरा फोक्सो छियाछिया पारेको थियो । फोक्सो त चपाइएको बबलगमको टुक्राहरूजस्तै देखिन्थ्यो ।

फोक्सोलाई भाइरसले छोटो समयमै नराम्ररी आक्रमण गरिसकेको थियो ।फोक्सोभरि प्वालै प्वाल थिए । धन्न शरीरका थुप्रै महत्वपूर्ण अंग निष्क्रिय भइसकेका थिएनन् ।’ उनलाई कोरोना संक्रमित भएपछि गम्भीर अवस्थामा अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । दिन प्रतिदिन उनको स्वास्थ्यको हालत खराब हुँदै गएपछि डाक्टरहरूले जुन महिनामा उनको दुवै फोक्सो प्रत्यारोपण्ण गरेर उनलाई नयाँ जीवन प्रदान गरेका थिए । त्यति छोटो सयमभित्र आफ्नो शरीरलाई कोभिड १९ ले ध्वस्त पारेको देखेर उनी स्तब्ध भएका थिए ।

अमेरिकामा दुवै फोक्सोको सफल प्रत्यारोपण हुने थोरै भाग्यमानीमध्ये एक बार्गात्जे पनि एक हुन् । जोन्स हकिन्स युनिभर्सिटीको तथ्यांकअनुसार कोरोना भाइरसको कारण ६ लाख ८७ हजार अमेरिकीले ज्यान गुमाइसकेका छन् ।बार्गात्जेले आफूलाई गत मार्चमा फ्लोरिडामा आयोजित एउटा कन्सर्टमा सहभागी हुने क्रममा आफू संक्रमित भएको हुनुपर्ने विश्वास गर्छन् । उनी कन्सर्टमा सहभागी हुनपुगेकामा अहिले बेस्सरी पछुताउने गरेका छन् ।

उनले त्यतिबेला मास्क लगाएको भए पनि खोप लगाएका थिएन ।त्यतिबेला उनी खोप लगाउन वैधानिक अवस्थामा पनि पुगेका थिएनन् । उनकी आमाका अनुसार उनी खोपका लागि प्रतीक्षामा बसेका थिए भने उनी अरूमा देखिने साइडइफेक्ट पनि हेर्न चाहन्थे । उनी वास्तवमा करिब १० वर्षपछि मात्र खोप लगाउने सोचमा थिए । अहिले उनी सबैलाई खोप लगाउन अनुरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्