हिमालयन क्याफेकी मालिक रेकालाई दलाई लामाको सहयोग



लन्डन,(एजेन्सी) । 

एकजना तिब्बती महिलाले बीस वर्षअघि गरेको एउटा वाचाबाट प्रभावित भएर तिब्बती धार्मिक नेता दलाई लामाले एउटा स्कटिस क्याफेको जगेर्ना गर्ने प्रयासलाई सहयोग गर्दैछन् । सन् २००४ मा संयोगवश स्कटिस संसद्मा लामासँग भेट भएपछि ३९ वर्षीया रेका गावा नामक महिलाले एडिनवर्गमा हिमालय क्याफे खोलेकी थिइन् ।

दलाई लामाले त्यतिबेला उनलाई स्कटल्यान्डमै बसेर तिब्बती संस्कृतिलाई प्रवर्धन गर्ने अनुरोध गरेका थिए । अहिले सो क्याफे रहेको घरका मालिकले घरै बेच्न खोज्दैछन् भने रेका क्याफे बन्द हुन नदिन घर आफैं किन्ने आशामा बसेकी छन् ।दलार्ई लामाका प्रवक्ताले उनलाई क्याफेको कामबारे जानकारी रहेको र सम्भवतः क्याफे बन्द नहुुने स्कटल्यान्ड बीबीसीलाई बताएका छन् । भारतको मसुरीमा हुर्केकी रेका १३ वर्षको उमेरमा डेनमार्क पुगेकी थिइन् ।२२ वर्षकी छँदा उनी एडिनवर्ग पुगेकी उनले स्कटिस संसद्मा जागिर पाएकी थिइन् ।
रेकाले यसरी विगत सम्झिन्छिन् – ‘मैले सुपरिवेक्षण अधिकारी जर्ज रेइडलाई हरेक बिहान कफी पिलाउँथे ।

एकदिन उनले मलाई दलाई लामा आउन लागेकोले भेट्ने इच्छा छ भनेर सोधे । उनलाई म तिब्बती भएको थाहा थियो । म दौडेर घर पुगें । निलो रंगको सबैभन्दा दामी परम्परागत तिब्बती लुगा लगाएँ । तस्विरमा मात्र देख्ने गरेको दलार्ई लामासँग प्रत्यक्ष भेट्न पाउने भएकाले म अत्यन्तै उत्साहित थिएँ । मैले भारतमा फोन गरेर परिवारलाई यसबारे बताएँ ।’‘म उनलाई भेट्दा भावविह्वल भएर रुन पुगें । चिनापरिचयपछि उनले त्यहीँ बसेर तिब्बती संस्कृतिको प्रवर्धन गर्न अनुरोध गरे । मैले वचन दिएँ । ’रेकाले संसद्को जागिर छाडेर सन् २००७ मा ध्यान कक्षसमेत भएको यो क्याफे खोलेकी थिइन् । त्यहाँ ग्राहकहरूलाई निशुल्क ध्यान गर्ने व्यवस्था छ । आफन्त र साथीभाइको सहयोगमा उनले केही पैसा सो क्याफे किन्न जम्मा गरिसकेकी छन् । तर, पैसा पुगेको छैन ।

आगामी १ डिसेम्बरसम्ममा उनले पैसाको बन्दोबस्त गर्नु पर्नेछ । यस्तै समयमा उत्तरी युरोप, वाल्टिक राज्य र पोल्यान्डका लागि दलाई लामाका प्रतिनिधि सोनाम छिरिङ फार्सीको सहयोग दिलाईदिने कुराले उनी आशावादी भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्