उत्तर कोरियाद्वारा छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण



सोल,(एजेन्सी) । 

उत्तर कोरियाले मंगलबार बिहान सबेरै पूर्वी समुद्री तटतर्फ एउटा छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । संयुक्त राष्ट्र संघसमक्ष उत्तर कोरियाली विशेष दूत किम सोङले क्षेप्यास्त्र प्रक्षेपण गरिएको पुष्टि गर्दै आत्मरक्षाका लागि प्योङयाङको पनि हातहतियार परीक्षण गने अधिकार छ भन्ने कुरा कसैले नकार्न नसक्ने बताएका छन् ।

किम साङले सो कुरा हाल अमेरिकाको न्युयोर्कमा जारी रहेको संयुक्त राष्ट्रसंघको महासभामा बताएका हुन् । यसै महिनाको शुरूमा प्योङयाङले ब्यालेस्टिक र क्रुज दुवै क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको थियो ।तर, त्यसको केही दिनपछि उत्तर कोरियाले दक्षिण कोरियासँग निशस्त्रीकरण सम्बन्धमा पुनः वार्ता थालनी गर्न आफू इच्छुक रहेको पनि जनाएको थियो ।एउटा विज्ञप्ति जारी गर्दै अमेरिकी सेनाले क्षेप्यास्त्र प्रक्षेपणबारे आफूलाई जानकारी रहेको तर यसले तत्कालै अमेरिकी वा यसको गठबन्धन फौजलाई कुनै खतरा नरहेको जनाएको छ । अमेरिकी इन्डो–प्यासिफिक कमान्डले भने यस क्षेप्यास्त्र प्रक्षेपणले उत्तर कोरियाको अवैधानिक हातहतियार कार्यक्रमको अस्थिरतापूर्ण असरलाई उजागर गरेको जनाएको छ ।

मंगलबार रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जापानी सञ्चार माध्यमले प्रक्षेपण गरिएको कुनै ब्यालेस्टिक क्षेप्यास्त्र हुनुपर्ने जनाएको छ । संयुक्त राष्ट्र संघको नाकाबन्दीअनुसार उत्तर कोरियाले कुनै पनि ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्न पाउँदैन ।यसैबीच दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले सोलको राष्ट्रिय सुरक्षा परिषद्लाई यस प्रक्षेपणपछाडिको प्योङयाङको उद्देश्य तथा पछिल्ला समयमा सार्वजनिक भएका नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङको भनाइको वास्तविकता पत्ता लगाउन आदेश दिएका छन् ।

केही दिन अघिमात्र किम यो जोङले उत्तर कोरिया कोरियाली युद्धको औपचारिक अन्त्यका लागि मुनद्वारा अघि सारिएको प्रस्तावप्रति सकारात्मक रहेको बताएकी थिइन् ।सन् १०५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध कुनै शान्ति सम्झौतामा नभई युद्धविराम घोषणामा मात्रै टुंगिएकाले प्राविधिक रूपमा सो युद्ध अझैसम्म जारी रहेको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्