भारत–अमेरिका सम्बन्ध रूपान्तरण हुँदैछ : प्रधानमन्त्री मोदी



इन्डिया न्युज नेटवर्क ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा भारत अमेरिका द्विपक्षीय बैठकको उद्घाटन भाषणमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अमेरिका सम्बन्ध रूपान्तरण हुँदै गएको बताएका छन् ।

उनले आफ्नो भाषणमा अगाडि भनेका छन् कि राष्ट्रपति बाइडेनको नेतृत्वमा भारत अमेरिका सम्बन्ध विस्तारका लागि बिउ रोपिएको छ र विश्वका सबै लोकतान्त्रिक देशहरूका लागि यो एक परिवर्तनकारी अवधि हुने छ ।

हालको समय २१ औं शताब्दीको तेस्रो दशक भएको र तेस्रो दशकको पहिलो वर्ष भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले भनेका छन् – ‘पूरै दशकलाई समष्टिगत रूपमा हेर्दा मलाई लाग्छ तपाईंको नेतृत्वमा भारत अमेरिका सम्बन्ध विस्तार गर्न बिउ रोपिएको छ । र संसारका सबै लोकतान्त्रिक देशहरूका लागि यो एक रूपान्तरणात्मक अवधि हुने छ ।’

उनले थप भनेका छन् – ‘यस परिवर्तनशील अवधिमा भारत–अमेरिका सम्बन्ध विस्तार हुने म देख्न सक्छु, र जब म परम्पराबारे कुरा गर्छु, म लोकतान्त्रिक परम्पराहरू, लोकतान्त्रिक मूल्यहरू, परम्पराका लागि दुवै देशको प्रतिबद्धता देख्दछु र आउने समयमा यी परम्परा बढ्दै जानेछन् ।’

यसै गरी सो कार्यक्रममा अमेरिकाको प्रगतिका लागि ४० लाख भारतीय–अमेरिकीहरूले योगदान दिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले उल्लेख गरेका थिए ।

त्यसै सन्दर्भमा प्रधानमन्त्री मोदीले भनेका छन् – ‘यस दशकलाई अवलोकन गर्दा र भारतीय अमेरिकी प्रतिभा देख्दा मलाई लाग्छ आउने समयमा नागरिकको नागरिकसँगको घनिष्ठ सम्बन्ध स्थापनाले दुई देशबीच झन् बलियो र सुमधुर सम्बन्ध स्थापित हुनेछ । यसमा तपाइँको योगदान धेरै महत्वपूर्ण हुनेछ ।’

हालको विश्वमा प्रविधि महत्वपूर्ण साधन भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले यी प्रविधि सेवा र मानवताका लागि उपयोग हुनुपर्नेमा जोड दिएका छन् । र यसका लागि स्वर्णिम अवसर सिर्जना हुने उनको भनाइ रहेको थियो ।

उनले भनेका छन् – ‘तपाईसँग केही चीज छन् र हामीसँग केही चीज छन् । जसबाट हामी एक अर्काको पूरक बन्न सक्छौं । यस दशकमा व्यापारिक क्षेत्र निकै महत्त्वपूर्ण हुनेछ । भारत र संयुक्त राज्य अमेरिकाबीच व्यापार महत्वपूर्ण हुनेछ ।’

महात्मा गान्धीको सम्पूर्ण ग्रहको अभिभावकता गरिनुपर्ने सिद्धान्तको उल्लेख गर्दै यो दशक गान्धी जीको सम्पूर्ण सिद्धान्तको पृष्ठभूमिमा पनि महत्वपूर्ण हुने उनको भनाइ रहेको छ ।

उनले भनेका छन् – ‘हाम्रो यस ग्रहलाई हामीले हाम्रा भावी पुस्ताका लागि सम्हालेर राख्नुपर्छ । अभिभावकता को यो भावना भविष्यमा सम्पूर्ण विश्वले अँगाल्ने छ । यही भावना भारत र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्धमा पनि झल्किने छ ।

महात्मा गान्धीले अभिभावकताको कुरा गर्दा उनले यही भावनालाई नै इंगित गर्नुभएको थियो । अब विश्वव्यापी रूपमा नागरिकहरूको जिम्मेवारी बढ्ने छ ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड महामारी, जलवायु परिवर्तन र क्वाडका लागि चालेका अनौठो पहलको प्रधानमन्त्री मोदीले सराहना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्