जर्मनीमा मर्केलको पार्टी असफल



बर्लिन,(एजेन्सी) ।

जर्मनीको संघीय चुनावको प्रारम्भिक नतिजाअनुसार सत्ताबाट बाहि रिन लागेकी चान्सलर एन्जेला मर्केलको पार्टीलाई जर्मनीको मध्यमार्गी – वामपन्थी समाजवादी प्रजातान्त्रिक पार्टी (एसपीडी) ले झिनो मतले पराजित गरेको छ ।

एसपीडीका नेता ओलाफ स्कोल्जले आफूसँग सरकार बनाउने स्पष्ट म्यान्डेट रहेको तर आफ्ना प्रतिद्वन्द्वी कन्जरभेटिभ क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) का नेता आर्मिन लास्चेट भने प्रतिस्पर्धा जारी राख्न दृढ रहेको बताएका छन् ।

यी दुई पार्टीले वर्षौंदेखि मिलेर सत्ता चलाउँदै आएका थिए । तर, अब यसले निरन्तरता पाउने सम्भावना कम देखिन्छ । यसकोे बदलामा अब नयाँ गठबन्धन सरकारमा ग्रिन्स र लिवरल्सले आफ्नो भूमिका खोजिरहेका छन् ।

यस चुनावमा प्रायः सबैले जलवायु परिवर्तनको समस्या र त्यसलाई समाधान गर्ने विभिन्न उपायलाई चुनावी नारा बनाएका थिए ।

दुवै पार्टीले ३० वर्षभन्दा कम उमेरका युवायुवतीहरूको थुप्रै समर्थन प्राप्त गरेका छन् । ग्रिन्सले झण्डै १५ प्रतिशत मत प्राप्त गरेर इतिहासै कायम गरेको छ । शुरूदेखि नै यो चुनावको परिमाण अनुमान गर्नै नसकिने अवस्थामा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्