कसैको दाह्रीजुँगा नकाट्न र नछाट्न आदेश



काबुल,(एजेन्सी) ।

तालिवान सरकारले अफगानिस्तानको हेल्मान्द प्रान्तमा हजामहरूमाथि कसैको पनि दाह्री जुँगा खौरने वा मिलाउन नपाउने प्रतिबन्ध लगाएको छ । तालिवान लडाकुहरूले यस्तो कार्यले आफ्नो इस्लामिक कानुन अर्थात् सरियातको उल्लंघन हुने बताएका छन् ।

साथै तालिवान धार्मिक प्रहरीले यो नियम तोड्ने हजामलाई कडा कारबाही हुने चेतावनी पनि दिएको छ । अमेरिकी नेतृत्वमा रहेको गठबन्धन फौजले अफगानिस्तान भूमि छाडेपछि तालिवानले सम्पूर्ण अफगानिस्तान कब्जा गरेको थियो ।

मुलुकलाई इस्लामिक इमिरेट घोषणा गर्दै नयाँ तालिवान सरकारले सरियात कानुन लागु गरेको थियो । हालैमात्र धार्मिक प्रहरीले अपराधीहरूलाई अंगभंग गर्ने तथा मृत्युदण्डजस्ता कडा सजाय पुनः कार्यान्वयन गर्ने घोषणा गरेको थियो ।

सो घोषणालगत्तै हेरात शहरको एउटा चोकमा एकजना अपहरणकारीको संज्ञा दिइएका व्यक्तिको लास क्रेनमा झण्ड्याइएको अवस्थामा फेला परेको थियो ।राजधानी काबुलस्थित केही हजामहरूले पनि आफूहरूलाई दाह्रीजुंगा नकाट्ने आदेश आइसकेको बताएका छन् ।

सन् २००१ म अमेरिकी सेनाको नेतृत्वमा अन्तर्राष्ट्रिय संयुक्त फौजले गरेको कारबाहीमा तत्कालीन तालिवान सरकारलाई अपदस्थ गरिएको थियो । सन् १९९६ देखि २००१ सम्म तालिवान सत्तामा रहेको थियो ।

हजामहरूले तालिवानको डरले मानिसहरूले दाह्रीजुँगा काट्न र छाँट्न बन्द गरेकाले आफ्नो आम्दानी नै सुक्न थालेको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्