विद्यार्थीसामु स्कुल बस ड्राइभरको हत्या



वासिंगटन,(एजेन्सी)

अमेरिकाको वासिंगटन स्टेट इलेमेन्ट्रिी स्कुलबाट शुक्रबार अपराह्न विद्यार्थीहरू लिएर आएका बस ड्राइभरलाई बालबालिकाहरूकै सामु छुरा प्रहार गरी हत्या गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रहरीका अनुसार करिब ३ बजे पास्को शहरस्थित लंगफेलो इलेमेन्ट्री स्कुलनजिक सो बसमा चढेका ती हत्याराले ड्राइभरमाथि अचानक आक्रमण गरेका थिए ।

अहिले ती नाम नखुलाइएका पुरुषलाई प्रहरी हिरासतमा राखिएको छ । छुरा प्रहारको कारण गम्भीर घाइतेपछि ड्राइभरले नियन्त्रण गुमाउँदा स्कुल बस नजिकैको स्कुल भवनमा ठोक्किन पुगेको प्रहरीले बताएका छन् ।

नाम नखुलेका ती ड्राइभरको उपचारकै क्रममा नजिकको एक अस्पतालमा मृत्यु भएको थियो । तर, बसमा रहेका कुनै पनि बालबालिकालाई चोटपटक नलागेको बताइएको छ । प्रहरी पुग्दासम्म पनि आक्रमणकारी घटनास्थलमै बसिरहेका थिए ।

आक्रमण गर्नुको कारण थाहा हुन सकेको छैन । प्रहरीले घटना सम्बन्धमा गम्भीर अनुसन्धान थालेको पास्को प्रहरी विभागका अधिकृत बिल पार्रामोरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्