शिल्पालाई शर्लिनको सुझाव



अश्लील फिल्म निर्माण र बिक्री वितरणको केसमा पक्राउ परेका बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा हालै जमानतमा रिहा भएका छन्।

राज कुन्द्राविरुद्ध केही अभिनेत्री तथा मोडलले विभिन्न खालका आरोप लगाएर उनीविरुद्ध मुद्दासमेत दायर गरेका थिए। तीनै मध्येकी एक अभिनेत्री शर्लिन चोपडा बेला–बेला राज र शिल्पालाई निशाना बनाएर सामाजिक सञ्जाल र मिडियामा विभिन्न अभिव्यक्ति दिइरहेकी हुन्छिन्। हालै पनि शर्लिनले शिल्पालाई केही सल्लाह सुझाव दिँदै एक पोस्ट सेयर गरेकी छिन्।

उनले लेखेकी छिन्– ‘तपाई टेलिभिजनमार्फत कलाकारहरूको प्रस्तुति हेरेर उनीहरूको प्रस्तुति र कलालाई साष्टाङ्ग दण्डवत गर्नुहुन्छ। कृपया मञ्चमा बसेर त्यति मात्र गर्नुभन्दा कृपया रिल लाइफबाट बाहिर आएर रियल दुनियाँका कयाैँ पीडित महिलामाथि अलिकति भए पनि सहानुभूति देखाउनुस्। ताकि तपाईंलाई सारा दुनियाँले दण्डवत गरुन्।’

शर्लिनले राज र शिल्पालाई ट्याग गरेर सेयर गरेको उक्त पोस्टमा एक भिडियो पनि समावेश गरेकी छिन्। जसमा उनले भनेकी छिन्– ‘मेरो चाहना छ म देशको लागि केही गरौँ। आफ्ना लागि मात्र होइन, देशका लागि पनि जिऊँ, आफ्ना लागि बंगला बनाउनु र गाडी किन्नु राम्रो हो तर गाडी र बंगला किनेपछि के गर्ने? कि पोर्न भिडियो बनाउने? होइन योभन्दा धेरै राम्रा काम बाँकी छ देशका लागि गर्न। मञ्चमा बसेर अरूको कलाको प्रशंसा गर्न सजिलो छ। तर, तपाईं बंगला र पोर्नबाट बाहिर निस्किएर केही गर्नुहोस्’, उनले राज र शिल्पालाई लक्षित गर्दै भनेकी छिन्।

केही समयअघि शर्लिनले राज कुन्द्राले आफूमाथि आपत्तिजनक व्यवहार गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेकी थिइन्। मुम्बई क्राइम ब्रान्चले बयानपछि मिडियासमक्ष आफ्नो कुरा राखेकी शर्लिनले राजलाई आफ्नो गुरु मान्ने गरेको भए पनि राजले भ्रामक र अश्लील भिडियो निर्माण गर्ने गरेको र आजको जमानामा नग्नता र अश्लील कुराहरू सामान्य हुन् भन्ने विश्वास दिलाउने कोशिस गरेको बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्