स्विजरल्यान्डमा समलिंगी विवाह निश्चित



जेनेभा,(एजेन्सी) ।

स्विजरल्यान्डमा समलिंगी विवाहलाई वैधानिकता दिने वा नदिने भन्ने विषयमा भएको जनमतसंग्रहमा स्विस मतदाताहरूले समलिंगी विवाहलाई मान्यता दिने मत सर्भेक्षणले देखाएको छ ।

साठी प्रतशितभन्दा बढी मतदाताले यस्तै अप्राकृतिक विवाहको समर्थन गरेको पाइएको छ ।यसबाट अब स्विजरल्यान्ड पनि यस्तो व्यवस्था भएका अधिकांश पश्चिम युरोपेली मुलुकका पंक्तिमा उभिने भएको छ ।

कन्जरभेटिभ राजनीतिक पार्टीहरू र चर्च समूहले भने समलिंगी विवाहको विरोध गरेका छन् । तिनीहरूले समलिंगी विवाहलाई बढावा दिँदा परम्परागत परिवार ओझेलमा पर्नसक्ने चिन्ता व्यक्त गरेका छन् ।

सन् २००७ देखि नै स्विजरल्यान्डले समलिंगी दम्पतीलाई पार्टनरसिप दर्ता गराउने अनुमति दिएको थियो । यद्यपि, केही अधिकारहरू प्रतिबन्धित नै थिए ।

यस नयाँ कानुनी प्रावधानको कारण समलिंगी दम्पतीलाई नाता नै नरहेका बालबालिकालाई सन्तानको रूपमा ग्रहण गर्न र विवाहित महिला समलिंगी अर्थात् लेस्वियनहरूलाई विर्यदान मार्फत् सन्तान जन्माउन मिल्ने भएको छ ।

विगत बीस वर्षमा पश्चिमी युरोपका अधिकांश मुलुकमा समलिंगी विवाहलाई कानुनी मान्यता दिइएको छ । जनमत संग्रह स्थानीय समयअनुसार आइतबार मध्याह्न शुरू भएको थियो । केही घन्टापछि नै चुनावी परिणाम निस्कने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्