एघार बलात्कारीलाई जनही बीस वर्ष कैद



रावात,(एजेन्सी) ।

मोरोक्कोको एउटा अदालतले सन् २०१८ मा एकजना १७ वर्षीया किशोरीमाथि निर्मम सामूहिक बलात्कार गरेको अभियोगमा बिहीबार एघार जना दोषी पुरुषलाई जनही बीस वर्ष लामो कारावास सजाय सुनाएको छ । खादिजा नामक ती पीडित युवतीले आफ्नो शरीरमा बलात्कारीहरूले जबर्जस्ती बनाएका चोट, टाटु र पालेका घाउ सार्वजनिक रूपमा प्रदर्शन गरेकी छन् ।

उनका वकिलका अनुसार उनले सन् २०१८ मै एक अन्तर्वार्ता दिने क्रममा आफूले आक्रमणकारीहरूलाई कहिल्यै क्षमा दिन नसक्ने बताएकी थिइन् । यस बलात्कार काण्डको कारण मुलुकभरि नै जनआक्रोस फैलिनुका साथै ‘ खादिजालाई न्याय दिलाऔं’ नामक अभियानै चलेको थियो । खादिजाका वकिलले एएफपी सामचार निकायलाई आफूले दिइएको सजाय सम्बन्धमा पुनः अपिल गर्ने बताएका छन् ।

वकिल इब्राहिम हाचानेले बताएका छन् – ‘बेन मलाल शहरको अदालतमा सुनाइएको यो सजाय काफी छैन । किनभने मानव ओसारपसारमा संलग्नहरूलाई जनही ३० वर्ष कैदको व्यवस्था छ ।’

हाचानेका अनुसार प्रत्येक बलात्कारीलाई १६ हजार अमेरिकी डलर जरिवाना पनि गरिएको छ । मानव अधिकारवादी अभियन्ताहरूले मोरोक्कोमा महिलाहरूविरुद्ध आक्रमण हुनु भनेको सामान्य घटनाजस्तै भएको र पचास प्रतिशशतभन्दा बढी महिलाले जीवनमा हिंसाको अनुभव गरेको बताएका छन् ।

सन् २०१८ मा सरकारले सार्वजनिक स्थलमा यौन उत्पीडन र जबर्जस्ती विवाहमाथि प्रतिबन्ध लगाउँदै महिलाविरुद्धको हिंसालाई अपराध करार दिने नयाँ कानुन पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्