राजनीतिमा युवा



नेपालका दुई प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले महाधिवेशन प्रक्रियामा अघि बढ्दैछन् । नेपाली राजनीतिमा सधंै प्रमुख भूमिकामा रहने यी दुवै दलको महाधिवेशन आउँदो मंसिरमा गर्ने तयारी भइरहेको छ । महाधिवेशन तयारीअघि बढेसँगै तल्लो तहदेखि माथिल्लो तहसम्म नेतृत्वमा आउन युवा पुस्ताले चासो देखाएको पाइएको छ । नेपाली राजनीतिमा युवाहरूको चासोले नेतृत्वमा लामो समयसम्म एउटै पुस्ता मात्र हैन पात्र पनि उही रहेको वर्तमान अवस्थामा परिवर्तन हुने संकेत देखिएको छ । देशको विकास र जनताको समृद्धिको लागि राजनीतिक परिवर्तन जति भए पनि नेतृत्वमा दल र पात्र उही भएका कारण आम नागरिकको अपेक्षा पूरा नभएको सन्दर्भ चलिरहेका बेला राजनीतिमा युवा पुस्ताको आगमनलाई आम चासोका साथ हेरिएको छ ।

महाधिवेशन प्रक्रिया शुरू गरिसकेको सत्तासीन दल नेपाली कांग्रेसभित्र १६ देखि २५ वर्ष उमेर समूहका ४० हजारभन्दा बढीले क्रियाशील सदस्यता लिएका छन् । यो पार्टीमा २६ देखि ४० वर्ष उमेर समूहका झण्डै दुई लाख ५० हजार क्रियाशील सदस्य छन् । करिब ९ लाखको हाराहारीमा क्रियाशील सदस्य बनाएको कांग्रेसभित्र ६० वर्षमाथिका क्रियाशील सदस्य एक लाखभन्दा कम छन् । ४० देखि ६० वर्ष उमेर समूहका करिब ३ लाख ३० हजार क्रियाशील छन् । प्रदेशगत हिसाबमा पनि यस पार्टीमा सुदूर पश्चिम र कर्णालीबाहेक अन्य प्रदेशमा दुई लाखसम्म क्रियाशील सदस्य छन् । समावेशीको हिसाबमा पनि अल्पसंख्यक, मधेशी, मुस्लिम, महिला, आदिवासी जनजाति, पिछडिएको क्षेत्र, थारू, मधेशी खसआर्य सबैमा क्रियाशीलको संख्या उल्लेख्य छ । नेतृत्वमा कल्याण कुमार गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरू पार्टीभित्र युवा पुस्ताको हस्तक्षेपकारी भूमिका खोजिरहेको र विमलेन्द्र निधि, डा. शेखर कोइराला लगायतले पनि पार्टीको पदाधिकारीमा युवा पुस्तालाई दिएर अघि बढ्ने बताइरहेको सन्दर्भले पनि यस पार्टीभित्र युवा पुस्ता स्थापित हुने संकेत गरेको छ । ६४ जिल्लामा वडा अधिवेशन गरिसकेको कांग्रेसभित्र अधिकांश वडामा नयाँ अनुहार त्यसमा पनि युवा समूह नेतृत्वमा आएकाले माथिल्लो तहमा पनि युवा पुस्ता स्थापित गर्न सहयोग पुग्ने देखिन्छ । नेपालमा लामो इतिहास बोकेको सत्तासीन दल नेपाली कांग्रेसभित्र युवाको आकर्षण र राष्ट्रिय राजनीतिमा सधैं केन्द्रमा रहेको एमालेभित्र नेतृत्वमा उमेरहद कायम हुनुले अबको केही वर्षभित्र नेपालको राष्ट्रिय राजनीति युवापुस्तामा जाने आशा पलाएको छ ।

हामीकहाँ युवा पुस्तालाई नेतृत्व दिनुप¥यो भनेर बाहिर आवाज उठाउने तर भित्रभित्रै बुढा नेताहरूलाई ‘तपाईं फेरि नउठे पार्टी डुब्छ’ भनेर चाटुकारिता गर्ने गलत प्रवृत्ति हाबी छ । एमालेमा ७० वर्षे उमेरको हदका कारण केपी ओलीको विकल्प खोजिने आश गर्न त सकिन्छ तर ढुक्क हुन सकिन्न । नेका समर्थकहरूले युवा पुस्ता नेतृत्वमा आउनुप¥यो भनेर कराएपछि गगन थापा यसअघि नै महामन्त्री पदमा उम्मेदवार बने तर भोट पाएनन् । दोहोरो चरित्र निर्वाह गर्ने व्यक्तिहरूका कारण मुलुकका राजनीतिकदेखि गैरराजनीतिक क्षेत्रसम्म प्रभावित छ । यस प्रकारको चरित्र एक प्रकारले राष्ट्रिय संस्कृति बनेको छ । युवा नेताहरूले उत्साह देखाएकै बेला दलका सदस्यहरूले उनीहरूलाई मतदान गरेनन् भने उनीहरूमा पुनः निराशा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्