एमीमा द क्राउनलाई सर्वाधिक अवार्ड



अमेरिकी टेलिभिजन जगत्को सर्वाधिक लोकप्रिय र सम्मानित मानिएको अवार्ड एमी अवार्डसको ७३औं संस्करणमा फिल्म द क्राउनले सर्वाधिक सात अवार्ड चुमेको छ।

लस एन्जेलसस्थित एलए लाइभ इन्टरटेन्मेन्ट परिसरमा आयोजित समारोहमा द क्राउनले दबेस्ट ड्रामा सिरिज, निर्देशक, अभिनेता, अभिनेत्री, सहअभिनेता, सहअभिनेत्री र लेखन गरी सात अवार्ड जितेको हो। यस ड्रामाबाट जेस्सिका होब्सले निर्देशकको, पिटर मार्गनले लेखकको ओलिविया क्लालमेनले अभिनेत्रीको, टोबिज मेन्जिसले सह अभिनेता र गिलिएन एन्डर्सनले सहअभिनेत्रीको अवार्ड चुमिन्।

कमेडी सिरिजतर्फ आउट स्ट्यान्डिङ अभिनेताको अवार्ड जेसन सुडेकिसले, अभिनेत्रीको अवार्ड जिन स्मार्टले जितेका छन् भने कमेडी सिरिज ह्याक्सबाट निर्देशकको अवार्ड लुसियाले, लेखनको अवार्ड लुसिया, पल तथा जेन स्टास्कीले जितेका छन्। त्यस्तैm सहअभिनेता र सहअभिनेत्रीको अवार्ड क्रमशः ब्रेट गोल्डस्टिन र हन्ना वडिघंमले जितेका छन्।

अभिनेत्री एवं लेखिका मिसाएला कोएलले आफ्नो निकै चर्चित एवं प्रशंसित कार्यक्रम आई मे डिस्ट्रोए युका लागि लेखिकाको अवार्ड चुमिन्। यौन उत्पीडनको शिकार भएका मानिसको अनुभवमा आधारित उक्त कार्यक्रमबाट जितेको अवार्ड उनले उनीहरुलाई नै समर्पित गरेको उनले बताएकी छन्। एन्थोलोजी एवं फिल्म विधाअन्तर्गत अभिनेता र अभिनेत्रीको अवार्ड क्रमशः इवन पिटर्स र जुलिएन्ने निकोलसनले जित्दा टेलिभिजन मुभीको अवार्ड क्रिसमस अन द स्क्वायर र भेराइटी टक सिरिजको अवार्ड लास्ट विक टुनाइट विद जोन आलिवरले जितेको छ।

समारोहमा टेलिभिजनका चर्चित हस्ती रुपाल सर्वाधिक अवार्ड चुम्ने अश्वेत कलाकार बने। उनले आफ्नो कार्यक्रम ड्रयाग रेसबाट विभिन्न अवार्ड जितेका छन्। उनको कार्यक्रमले एमी अवार्डमा लगातार उही विधामा अवार्ड जित्दै आएको यो चौथोपटक हो।

प्रतिक्रिया दिनुहोस्