ग्लास टावरमा ठोकिएर सयौं पंक्षी मरे



न्युयोर्क,(एजेन्सी) ।

यसै साता बसाईं सर्ने उद्देश्यले अमेरिकाको न्युयोर्क हुँदै उडिरहेका सयौं पंक्षी सोही शहरको ग्लास टावरमा ठोकिएर मरेका छन् । न्युयोर्क सिटी (एनवाईसी ) अदुवोन भोलुन्टियरको ट्विटमा वल्र्ड ट्रेड सेन्टर वरपर पंक्षीको सिनो छरिएको देखाइएको छ । यस वर्ष यसरी मर्ने पंक्षीको संख्या बढी भएको हो ।

एनवाईसी अदुवोन समूहको संरक्षण तथा विज्ञान विभागका सहायक निर्देशक काइटलिन पार्किन्सले म्यानह्याटनका गगनचुम्बी भवनका ऐनामा यसरी पंक्षी ठोकिएर मर्ने समस्यामाथि वर्षौंदेखि आवाज उठाइरहेको बताएकी छन् । गत सोमबार रातिदेखि मंगलबारसम्म चलेको खराब मौसमका कारण यो अप्रिय घटना घटेको उनले बताएकी छन् ।

पार्किन्स बताउँछिन्, ‘आँधी हुरीका कारण ती पन्छिहरूले निकै उचाइमा उड्न नसक्दा अकालमा ज्यान गुमाउन पुगेका हुन् । खराब मौसमका रातमा पंक्षीहरूमा रात्रिकालीन प्रकाशको असर पनि निकै कडा हुने गर्दछ । वसन्त ऋतु बसाइँ सराइको समय पंक्षीहरू यस्तो खतराको शिकार हुने सम्भावना बढिरहेको छ ।’

एनवाईसीका अर्का स्वयमसेविका मेलिस्सा ब्रेयरले टिव्ट गर्दै न्यु वल्र्ड ट्रेड सेन्टर टावरहरू वरपरका फुटपाथमा करिब ३ सय वटा मरेका पंक्षी भेटिएको जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्