रूसी विश्वाविद्यालयमा गोली चल्दा छ जनाको मृत्यु



मस्को,(एजेन्सी) ।

रूसी शहर पर्मस्थित एउटा विश्वविद्यालयमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा छ जना मानिसको ज्यान गएको सोमबार प्रहरीले जनाएको छ । सरासर हिडेर क्याम्पस पुगेका ती पुरुषले अचानक गोली चलाएका थिए । उनको एकोहोरो आक्रमणबाट जोगिनका लागि केही विद्यार्थी र शिक्षक शिक्षिकाहरू विश्वविद्यालय भवनभित्र लुकेका थिए भने केहीले झ्यालबाट हामफालेर आफ्नो ज्यान बचाउने प्रयास गरेका थिए । प्रहरीले आफूहरूले गोली हानेर घाइते बनाइएका आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भएको पत्रकारहरूलाई बताएका छन् । नाम नखुलाइएका ती आक्रमणकारी विद्यार्थी भएको खुलासा भएको छ । यस घटनामा अन्य बिस जनाभन्दा बढी व्यक्ति घाइते भएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

राजधानी मस्कोदेखि करिब १ हजार ३ सय किलोमिटर पूर्वमा पर्ने युराल्समा रहेको पर्म स्टेट युनिभर्सिटीमा स्थानीय समयअनुसार सोमबार बिहान ११ बजे यो घटना घटेको थियो ।

आक्रमणकारीको आक्रमणका पछाडि कुनै धार्मिक तथा राजनीतिक उद्देश्य नरहेको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

रसियन सरकारी टेलिभिजनले सन्त्रसित विद्यार्थी तथा शिक्षकहरू चिच्याउँदै यताउता भागेको तथा झ्यालबाट समेत हाम फालेको भिडियो फुटेजहरू प्रशारण गरेको छ । अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार उनले वर्षैंदेखि आफू घृणाको शिकार हुुँदै आएको र अब त्यसको प्रतिशोध लिने समय आएको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।

घटना लगत्तै सामाजिक सञ्जालबाट उनको सो विचारोत्तेजक भनाइ हटाइएको छ । यसै वर्षको शुरूमा पनि एकजना १९ वर्षीय बन्दुकधारीले मध्य रूसी शहर कजानस्थित एउटा विद्यालयमा गोली चलाउँदा ९ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्