अफगानिस्तानमा महिलाहरूलाई घरमै बस्न आह्वान



काबुल,(एजेन्सी) ।

अफगानिस्तानस्थित तालिवान सरकारले महिला कामदारहरूलाई घरमै बस्न आदेश दिएको एसोसिएटेड प्रेसले आइतबार जनाएको छ । काबुलका अन्तरिम मेयर हमदुल्लाह नामोनीले यो घोषणा गरेका हुन् । तर, उनले पुरुषहरूबाट प्रतिस्थापित हुन नसक्ने काममा कार्यरत महिलहरूलाई भने आफ्नो जागिरलाई निरन्तरता दिने छुट प्रदान गरिएको छ ।

मेयरका अनुसार उदाहरणका लागि सार्वजनिक महिला शौचालयजस्ता स्थानमा पुरुष कर्मचारी भर्ति गर्न नसकिने भएकाले त्यस्ता स्थानमा महिलाहरूले आफ्नो काम जारी राख्न सक्ने बताएका छन् । काबुल महानगरपालिकाका विभागहरूमा महिला कर्मचारीकाबारेको निर्णय अहिले स्थगित भएको र तिनीहरूको तलव समेत दिनै बाँकी रहेको बताइएको छ ।

अमेरिकी नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धन फौजले अफगान भूमि छाडेपछि गत महिना तालिवानले सम्पूर्ण अफगानिस्तान कब्जा गरेको थियो । त्यसपछि तालिावानले प्रतिशोध लिनसक्ने डरले हजारांै अफगान जनताले देश छाडेका थिए ।

अन्तरिम तालिवान सरकारले मुलुकलाई इस्लामिक इमिरेट्स घोषणा गर्दै सरियात कानुन लागु गरिसकेको छ । स्कुल कलेजमा पनि महिलाहरूले बुर्का लगाउनुपर्ने भएको छ । नयाँ अफगान सरकारमा आफ्ना फौजमाथि आक्रमण गर्ने व्यक्तिहरू समेत समावेश गरिएको भन्दै शुरूमै अमेरिकाले विरोध जनाएको थियो । त्यसै गरी युरोपेली संघ ( ईयू ) ले पनि महिलालाई मन्त्री मण्डलमा समावेश नगरिएकोमा आलोचना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्