सुरक्षाका लागि सिसी क्यामेरा



काठमाडौं उपत्यकामा झण्डै ७० लाख जनसंख्या रहेको बताइन्छ । संघीय राजधानी रहेको काठमाडौं उपत्यकामा दिनप्रतिदिन जनसंख्या बढ्नु स्वाभाविकै हो । जनसंख्याको चाप बढ्दा स्वाभाविक रूपमा सुरक्षा चुनौती पनि थपिनेगर्छ । देशका ७७ जिल्लाका बासिन्दाको बसोबास रहेको काठमाडौं उपत्यकाभित्र दैनिक रूपमा चोरी डकैती, सवारी दुर्घटना लगायतका घटना हुनेगर्दछ । कतिपय घटनामा संलग्न दोषीलाई सिसी क्यामेरामा रेकर्ड भएकै आधारमा तत्काल पक्राउ गर्न प्रहरी सफल भएको छ भने सिसी क्यामेरा नभएका क्षेत्रको अनुसन्धान गर्न प्रहरीलाई कठिनाइ परेको पनि देखिन्छ ।

काठमाडौं उपत्यकाभित्र हुनसक्ने सम्भावित आपराधिक गतिविधि न्यूनीकरण गर्न प्रहरीले अगाडि सारेको प्रविधिमैत्री उपत्यकाको योजना प्रभावकारी रूपमा कार्यान्वयन हुनसकेको छैन । उपत्यकाभित्रको शान्ति सुरक्षालाई थप मजबुत बनाउन प्रहरीले सिसी क्यामेराको संख्या बढाउने योजना राखे पनि बजेटको अभावमा कार्यान्वय हुन कठिन देखिन्छ । उपत्यकामा हाल जडान गरिएका २५ सय ८९ सिसी क्यामेराको संख्या कम भएको निष्कर्षसहित प्रहरीले थप १८ हजार ८ सय ५२ वटा सिसी क्यामेरा थप्नुपर्ने धारणा लिएको छ । समाजको शान्ति सुरक्षाको लागि सरकारले पर्याप्त लगानी गर्न नसकेका कारण कुनै पनि आपराधिक घटना हुन नदिने योजनाका साथ प्रहरीले अघिसारेका योजना सफल हुन सकेको छैन । अहिलेकै अवस्थामा बजेट आउने हो भने सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिएको सिसी क्यामेरा जडान गर्न अभैm वर्षौं लाग्ने देखिन्छ । उपत्यकाभित्र हुने सवारी दुर्घटना, आपराधिक गतिविधिको प्रमाणको रूपमा प्रहरीले सिसी क्यामेराको फुटेजलाई पहिलो प्रमाणको रूपमा लिने गरेको यथार्थलाई ध्यान दिएर सरकारले बजेट व्यवस्था गर्नु आवश्यक छ । उपत्यकाको मुख्य–मुख्य नाकामा सिसी क्यामेरा जडान गरे पनि अझै पनि कतिपय व्यस्त चोक र वस्तीस्तरमा सिसी क्यामेरा जडानको काम अघि बढ्न सकेको छैन । शहरका सबै वस्तीमा प्रहरीको उपस्थिति पुग्न सक्दैन । तर, सिसी क्यामेरा जडान भएका कारण सहज रूपमा निगरानी भने बढाउन सकिन्छ । प्रविधिको प्रयोग बढाउने कार्यमा गृह मन्त्रालयले आवश्यक ध्यान दिन सके नागरिकले सुरक्षित बाँच्ने अवसर पाउनेछन् ।

अहिले जडान गरिएको सिसी क्यामेराको संख्या निकै थोरै देखिन्छ । उपत्यकाभित्र साढे १८ हजारभन्दा बढी सिसी क्यामेरा, सिसी क्यामेरालाई मनिटरिङ गर्ने भिडियो मेनेजमेन्ट सिस्टम (भीएमएस) जडान गर्नका लागि करिब ३० अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । काठमाडौं उपत्यकाको शान्ति सुरक्षालाई थप मजबुत बनाउन अत्यावश्यकीय रूपमा रहेको सिसी क्यामेरा जडानको कामलाई प्राथमिकताको साथ अघि बढाउन आवश्यक छ । झन आवश्यक पर्ने भिडियो मेनेजमेन्ट सिस्टममार्फत हजाराैँको सिसी क्यामेराको सुपरभिजन गर्न सहज बनाउने प्रविधिको जडान गर्नु अपरिहार्य भइसकेको छ । यस खालको प्रविधिबाट सुरक्षा अवस्थाको निगरानीका साथै शंकास्पद घटनाबारे तत्काल जानकारी हुन्छ । यसबाट सम्भावित आपराधिक क्रियाकलापसमेत रोक्न ठूयो सहयोग पुग्छ । नेपाल प्रहरीको कामलाई थप प्रभावकारी बनाउन प्रविधिको प्रयोगलाई बढाउनैपर्छ । यस अभियानमा काठमाडौैं उपत्यकाभित्र रहेका स्थानीय तहहरूले पनि लगानी बढाए सहज ढंगले लक्ष्य प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्