शब्द सारथीको नियमित शृङ्खला सुरु



सिन्धुपाल्चोक ।

यहाँबाट सञ्चालित साहित्यिक रचना सुन्ने सुनाउने शृङ्खला पुनः सुरु गरिएको छ । शुक्रबार शब्द सारथीको ९६औँ शृङ्खला नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको सभाहलमा सम्पन्न भएको छ । कोरोना महामारीका क्रममा रोकिएको शृङ्खला अब नियमित सञ्चालन गरिने सारथीका अध्यक्ष अमित घिमिरेले बताउनुभयो । “कोरोनाका कारणबीचमै स्थगित गरिएको थियो”, उहाँले भन्नुभयोे, “अहिले जनजीवन सामान्य अवस्थामा फर्किएकाले फेरि सुरुआत गरिएको हो ।”

९६औँ शृङ्खलामा साहित्यकार जिएस नेपाल, टीका शर्मा, सम्भू बैरागी, बेली विक, हरिशरण श्रेष्ठ, विजय नेपाल, सुन्दर शिरीष, अमित घिमिरेलगायतले कविता वाचन गर्नुभएको थियो । दुई दर्जन सारथी तथा स्रष्टा उपस्थित शृङ्खलामा विशेष स्रोता चौतारा साँगाचोकगढी नगरपालिकाका रोजगार संयोजक चिरञ्जीवी कट्टेलले साहित्यले समाजलाई सही गन्तव्यमा पु¥याउन मद्दत गर्ने हुँदा शृङ्खलालाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

साहित्यलाई प्रवद्र्धन गर्ने र नयाँ स्रष्टालाई प्रतिभा प्रस्फुटन गर्न थलो प्रदान गर्ने उद्देश्यले २०७५ असोज १६ गते शब्द–सारथी सुरुआत गरिएको थियो । छजना साहित्यिक अभियन्ताबाट सुरु गरिएको पहिलो शृङ्खला हुँदै हालसम्म १०० भन्दा बढी साहित्यिक व्यक्तिले रचना सुनाइसकेका छन् । शृङ्खला सुरु भएपछि विभिन्न आन्दोलन, पहिचानको खोजी, समृद्धि र समुन्नत समाजका पक्षमा यो संस्था अनवरतरुपमा अगाडि बढेको छ ।

शब्द सारथीले गौराती भीमेश्वर मेलाका अवसरमा पर्यटनका लागि साहित्य, कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका निम्ति कविता, सिन्धु साहित्य उत्सव, पुस्तक विमोचन कार्यक्रम शृङ्खलाकै क्रममा गरेको छ । त्यस्तै साहित्यका विविध विधालाई समेट्ने ध्येयले मुक्तक विशेष, हाइकु विशेष, बाल साहित्य विशेषजस्ता शृङ्खलासमेत गरेको शब्द सारथीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्