मेट गालामा हलिउड सेलिब्रेटीका अनौठा रूप



अमेरिकाको न्युयोर्कमा हरेक वर्ष आयोजना हुँदै आएको मेट गाला समारोह यस वर्ष पनि भएको छ। गत वर्ष भने कारोना महामारीका कारण यो समारोह सम्पन्न हुन सकेको थिएन।

मेट्रोपोलिटन म्युजियम अफ आर्ट कस्ट्युम इन्स्टिच्युटका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको मेट गाला २०२१ हालै धुमधामका साथ सम्पन्न भएको छ। इन अमेरिका अ लेक्सिकन अफ फेसन नाम दिएर अमेरिकी फेसन डिजाइनर र उनीहरूको प्रभावको सम्मानमा गरिएको समारोहलाई थलिएको फेसन क्षेत्रको पुनर्जागरणको रूपमा लिइएको एजेन्सीले जनाएको छ। यो समारोहका कारण अमेरीकी फेसनका पारखीहरूले लामो समयपछि विभिन्न सेलिब्रेटीका अलग–अलग पहिरन र स्टाइल देख्न पाए। यस अवसरमा सेलिब्रेटीहरूले विभिन्न डिजाइनरले तयार पारेको अनौटा पहिरन प्रस्तुत गर्दै समारोहको माहोल तताएका थिए। मेट गालाको रेड कार्पेटमा उनीहरू आफ्नो स्टाइलका कारण दुनियाँभरका मानिसको ध्यान आफूतिर खिच्न सफल भए।

समारोहमा अभिनेत्री किम कार्दसियनको पहिरनले धेरैलाई आश्चर्यचकित बनायो। प्रायः आधा शरीर मात्र ढाक्ने पहिरन पहिरेका कारण ट्रोल भइरहने किमले मेट गालामा थोरै कपडा लगाएका कारण होइन, पूरै कपडा लगाएर शरीर छोपेका कारण ट्रोलको शिकार बन्नुप¥र्यो। किमले लगाएको कालो रङको कपडाले उनको शरीर मात्र होइन, अनुहारसमेत छोपिएको थियो।

गायिका किम पेट्रासले आफूलाई घोडाको अवतारमा प्रस्तुत गरेर समारोहलाई अविस्मरणीय बनाएकी थिइन्। उनको पहिरन मेट गालामा प्रदर्शन भएकामध्ये खराब कपडा भनेर चर्चा भएको थियो।

गायिका रिहाना र र्‍यापर आसाप रक्कीको जोडी पनि दुनियाँभरको ध्यान आफूतिर खिच्न सफल रह्यो। रिहानाले पूरै शरीर ढाकिने गरी कालो रङको कपडा लगाएकी थिइन् भने आसापले सिरकले पूरा शरीर ढाकेर रेड कार्पेटमा इन्ट्री गरेका थिए।

अभिनेत्री लिली रेनहार्टले आफ्नो नामजस्तै कपडा फूलैफूलले सजिएको कपडा लगाएर रेड कार्पेटमा उत्रिँदा धेरैको ध्यान उनीतिर गएको थियो।

अभिनेत्री तथा मोडल हन्टर सेफरले डरलाग्दो कपडा र मेकअपमा प्रस्तुत भएर सबैलाई त्रसित बनाएकी थिइन्।

मोडल तथा अभिनेत्री इमानको फेसनले पनि धेरैको ध्यान केन्द्रित गरेको थियो।

बेलुनजस्तो कपडा लगाएकी मोडल नतालिया ब्रायन्टले आफूलाई उड्न लागेको बेलुनका रूपमा प्रस्तुत गरिन्।

प्रतिक्रिया दिनुहोस्