पावर–बेस पार्टीलाई पोलिसी–बेस बनाउन मै सभापति बन्नुपर्छ



  • प्रकाशमान सिंह, नेता नेपाली कांग्रेस

नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा यहाँको सभापतिमा उम्मेदवारी किन ?

खासमा नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनपछि पार्टीको अवस्था कमजोर बन्दै गयो । नेपाली कांग्रेसको राजनीति कमजोर हुँदा देश कम्युनिस्टहरुको हातमा गयो । देश कम्युनिस्टहरुको हातमा जानु भनेको देशमा अस्थिरता पैदा हुनु हो । प्रथम संविधानसभाबाट संविधान निर्माणको जिम्मेवारीसमेत पाएका कम्युनिस्टले संविधान निर्माण गर्न नसकेपछि दोस्रो संविधानसभाको चुनावबाट संविधान निर्माण गर्ने जिम्मेवारी नेपाली कांग्रेसले पाएको ताजा उदाहरण हामीसंँग छ । लोकतन्त्रको रक्षाका लागि सधैं पहरेदार बन्ने नेपाली कांग्रेस पार्टी कमजोर हुँदा देशमा लोकतन्त्रसमेत धरापमा परेको हामीले देखेका छौं ।

नेकालाई सुदृढ बनाउन सक्नुहुन्छ भन्ने प्रमाण ?

पहिलो संविधानसभाबाट संविधान जारी हुन नसकेपछि दोस्रोपटकको चुनाव भयो, संविधान जारी हुँदा म पार्टीको महासचिव थिएँ र सुशील कोइराला पार्टी सभापति हुनुहुन्थ्यो । कोइराला पार्टी सभापति र म महासचिव हुँदा देशले ठूलो इतिहास रचेको छ । पार्टीमा जिम्मेवार ढंगले नेतृत्व सम्हाने हो भने काम गर्न सकिन्छ भन्ने पछिल्लो उदाहरण हो यो । पछिल्लो समय सिद्धान्तभन्दा बाहिर गएर पैसा र पावरका भरमा पार्टी सञ्चालन हुँदा पार्टीका आदर्श कार्यकर्ता मर्कामा परे । त्यति मात्रै होइन देश नै कम्युनिस्टको हातमा गयो । देशले ठूलो क्षति बेहोर्नुपर्‍यो त्यसैले देश र कार्यकर्ताले बेहोर्नुपरेको क्षति आगामी दिनमा बेहोर्न नपरोस् भन्ने उद्देश्यका साथ मेरो सभापतिमा उम्मेदवारी हो ।

उसो भए यहाँले नेतृत्व गरेपछि नेपाली कांग्रेसमा कायापलट हुन्छ ?

मैले नेतृत्व गर्दैमा पार्टीमा कायापलट भइहाल्छ भन्दिनँ । यत्रो विशाल पार्टीमा एक जना नेतृत्वमा आउँदैमा सबैथोक परिवर्तन भइहाल्दैन । तर, एउटा कुराचाहिँ सत्य हो– पावर–बेस पार्टी पोलिसी–बेस हुनेछ । नेता–कार्यकर्ता शक्तिको पछि नलागी विधि–विधानको बाटोमा हिँड्ने वातावरण तयार हुनेछ । पार्टीमा आस्थावान् सबैलाई समेट्ने गरी पार्टी सञ्चालन गर्छु । तेह्रौं महाधिवेशनबाट पार्टी निर्वाचन भएपछि चार वर्षसम्म पार्टी विभागसमेत गठन हुन सकेनन्, अहिले अन्तिम अवस्थामा आएर पार्टीका विभागहरु गठन गरिए यसले केही नेतृत्व र केही कार्यकर्तालाई लाभ पुगे पनि समग्र पार्टीलाई भने लाभ पुग्न सकेन । नेतृत्व लिनु भनेको सबै अधिकार आफूले लिएर पार्टीमा एकल निर्णय लाद्नु होइन । तर, अहिले त्यस्तै भइरहेको छ ।

म पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो काम सबै वडा समितिको मनोभावना बुझ्छु, उहाँहरुसँंग छलफल गर्छु र पार्टीका विभागलाई चलायमान बनाउँछु । सबै कार्यकर्ताका समस्यालाई समाधान गर्न ती विभागलाई जिम्मेवारी दिन्छु । विभागले समस्या समाधान गर्न नसकेका विषयलाई समग्र पार्टीले सम्बोधन गर्ने गरी जिम्मेवारी बाँडफाँड गर्छु र पार्टीमा ‘ननपोल्टिकल नेचर’का नेताहरुको प्रवेशले पार्टीलाई धराशयी बनाउँदै लगेको परिपेक्ष्यमा मेरो नेतृत्वमा सच्चा कार्यकर्ताले पार्टीमा स्थान पाउँछन् ।

त्यागी पिता गणेशमान सिंहको विरासतले तपाईंलाई लाभ नै पुग्ला होइन ?

बुबाको विरासत थाम्नकै लागि म राजनीतिमा आएको होइन । मेरो राजनीतिमा आफ्नै इतिहास छ । आफ्नै लगाव छ, आफ्नै त्याग–तपस्या र योगदान छ । ऊर्जाशील समय अन्तै खर्च गरेर रिटायर लाइफमा मैले राजनीति गरेको भए कुरा बेग्लै थियो । होला, बुबाको पहिचान ठूलो भएको र देशका लागि धेरै योगदान दिनुभएको हुँदा उहाँसँंग जोडेर चर्चा गर्नु कुनै नाजायज होइन तर पनि राजनीतिमा मेरो आफ्नो छुट्टै योगदान छ । विद्यार्र्थी कालदेखि राजनीति गर्दै आएको पृष्ठभूमि छ ।

गणेशमानको छोरा भएका कारण कतै कुनै सुविधा मैले लिएको छैन । काठमाडाैँ को जिल्ला सभापति भएर पार्टी राम्रोसँंग सञ्चालन गरें, एक आम कार्यकर्ताले जति संघर्ष गरेर पार्टीका खुड्किला पार गर्छन् मैले पनि त्यति नै संघर्ष गरेको छु । त्यसकै कारणले अहिले यो स्थानमा पुगेको छु । त्यति मात्र होइन, राजनीतिमा लागेकै कारणले एउटै स्कुलमा समेत पढ्न पाइएन । पार्टीगत राजनीतिलाई बन्देज गरिएको अवस्थामा राजनीति गरियो, बुबाआमा सधैं जेल पर्ने, हामीलाई एकै ठाउँमा बसेर पढ्ने वातावरण पनि मिलेन । एसएलसी पास गारेर आईएससी पढ्दै गर्दा तत्कालीन रोयर नेपाल अहिलेको नेपाल एयरलाइन्समा पाइलटका लागि विज्ञापन खुल्यो जहाँ विदेश गएर पाइलट पढ्न पाइथ्यो, हामी दाजुभाइ पढाइमा अब्बल भएको हुँदा दुवैले उक्त फर्म भर्‍यौँ । पाइलटका लागि आवश्यक १३ जनामा हामी दुवै दाजुभाइको नाम पनि निस्कियो । राजदरबारले थाहा पाएपछि गणेशमानका छोराहरुको नाम निस्कियो भनेर उक्त उक्त सूचना नै अन्तिम अवस्थामा आएर रद्द गरियो । बुबाले राजनीति गरेकै कारण हाम्रो प्रतिभालाई त कुण्ठित पारियो नै, हामीसँग नाम निकाल्ने अन्य होनहार नेपाली युवा पनि पीडित भए ।

त्यसको केही वर्षपछि पुनः त्यही सूचना खोलियो र उक्त सूचनामा दाइले पुनः नाम निकाल्नु भयो मैले भने उक्त सूचनालाई बेवास्ता गरें । आज दाइ पाइलट बन्नुभयो भने मैले मजस्तो देशभर बुवा अथवा घर–परिवारका सदस्यले राजनीति गरेकै आधारमा परिवारका सदस्यको प्रतिभालाई खेर जान दिनुहुँदैन भन्ने संघर्षतिर लागें । एउटा राष्ट्रिय राजनीति गर्ने नेताको छोरालाई त यति दुःख हुँदो रहेछ भने गाउँ–गाउँमा राजनीति गर्नेहरुको घर–परिवारलाई कस्तो पीडा होला । त्यसैले साँच्चिकै राजनीति बुझेको मान्छेले प्रकाशमानले बाबुको विरासतबाट लाभ लियो भन्दैन ।

त्यागी नेता गणेशमानका छोरा प्रकाशमानले सभापतिको उम्मेदवार त्याग गर्ने सम्भावना कति छ ?

पछिल्लो समय सभापतिमा उम्मेदवारी घोषणा गरेपछि अत्यधिक सोधिएको प्रश्न हो यो । बुबाले पार्टीका लागि त्यस्तो त्याग र बलिदान दिनुभयो आज पार्टी यस्तो अवस्थामा आउँदा के हेरेर बसेको भनेर धेरैको जिज्ञासा पनि छ । पार्टीको यो अवस्था हुँदा आफ्नो अनुभवलाई प्रयोग नगरेर किन चुप लागेको, सधैं त्यागी बन्दै अरूलाई पद छोड्दै जाँदा पार्टीको अवस्था यस्तो भयो, त्यसैले अब अनुभव भएको पार्टीलाई नेतृत्व गर्न सक्ने तपाईंको खाँचो छ भन्ने राजनीतिज्ञहरुको सल्लाहअनुसार नै म पार्टी सभापतिका लागि अगाडि बढेको हुँ । मेरो हितभन्दा पनि समग्र पार्टी, कार्यकर्ता र देशको हितका लागि मेरो उम्मेदवारी भएको हुँदा अहिले पार्टी सभापतिबाट पछि हट्ने कुनै सम्भावना छैन ।

रह्यो सहमतिको कुरा, मैले सबै अग्रज नेताहरुसंँग कुराकानी गरेको छु । अब तपाईंहरु सम्मानजनक ठाउँमा बस्नुस् पार्टी चलाउने जिम्मेवारी हामीलाई दिनुस् भनेकै छु । सहमति भए हुन्छ नत्र चुनावबाट नेतृत्व चयन हुन्छ तर कुनै पनि अवस्थामा सभापतिबाट पछि हट्ने अवस्था भने छैन । फेरि पार्टीमा पनि शेरबहादुर देउवा, रामचन्द्र पौडेलपछिकोे सिनियर लिडर मै हुँ, त्यसैले उहाँहरुको पछिको विकल्प मै मात्रै हो । कार्यकर्तालाई नयाँ नेतृत्व प्रदान गर्न पनि मेरो उम्मेदवारीमा सबैको साथ रहन्छ भन्ने अपेक्षा छ । कार्यकर्तासँंग म प्रत्यक्ष सम्पर्कमै छु । त्यसैले गुटबन्दीका कारण पछि हट्ने अवस्था छैन ।

प्रस्तुति : भूपराज बस्याल

प्रतिक्रिया दिनुहोस्