कहरमा कांग्रेस



दुई महिनासम्म सरकारलाई पूर्णता दिन नसकेपछि लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको ठूलो आलोचना भएको छ । आलोचनाको सघनता र परिमाण कति भने, जति पछिल्लो संघीय संसद्मा उसले न्यून संख्यामा जित हासिल गर्दा भएको थियो । चिठ्ठामै सरकारको नेतृत्व गर्न पाएको नेपाली कांग्रसबाट अधिक अपेक्षा नभए पनि मुलुकलाई बजेटविहीन बनाउने हदसम्मको आपद् आउन दिने काम होला भनेर अपेक्षा गरिएको थिएन । प्रमुख प्रतिपक्ष एमालेका कारण संसद् चल्न नसक्दा यस प्रकारको जटिलता देखिएको हो तापनि यसको समाधान खोज्ने काम संस्थापन पक्षकै हो भन्नेमा दुई मत छैन ।

पछिल्लो आम निर्वाचनबाट इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको कांग्रेस योपटक सत्तामा पुग्ने कुरा सायद कल्पनामा पनि थिएन । दुई तिहाइको हाराहारीमा रहेको कम्युनिस्ट पार्टीभित्रको खिचातानीले सत्ताको नेतृत्व गर्न पुगेको कांग्रेस नेपालको एकमात्र यस्तो राजनीतिक दल हो जसले परिवर्तनका हरेक आन्दोलनको नेतृत्व गरेको छ । राणा शासनको अन्त्य गर्न गरिएको आन्दोलन होस् वा पञ्चायती व्यवस्थाको अन्त्य गर्न भएको संघर्ष– कांग्रेसकै नेतृत्वमा भएको हो । २०४६ सालको जनआन्दोलन होस् वा २०६२–६३ को आन्दोलन– कांग्रेसकै अग्रसरतामा लक्ष्यमा पुगेको हो । नेपालमा गणतन्त्र स्थापना र नयाँ संविधान जारी गर्ने कार्यमा कांग्रेसको निर्णायक भूमिका थियो । नेपालमा १० वर्षसम्म चलेको माओवादी सशत्र द्वन्द्वलाई अन्त्य गराई माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि उसकै भूमिका थियो । राष्ट्रियताको संरक्षण र संवद्र्धन गर्दै प्रजातान्त्रिक समाजवाद स्थापना गर्ने नाराका साथ अघिबढेको कांग्रेस अहिले राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्तअनुरूप संघीय गणतन्त्रात्मक राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपाललाई न्यायपूर्ण, गतिशील र शान्तिपूर्ण समाजको निर्माण गर्ने ध्येयका साथ अघि बढेको छ । वि.सं. २००३ साल माघमा प्रथम महाधिवेशन गरेको यो पार्टी अहिले १४औं महाधिवेशनको संघारमा छ । सिद्धान्तभन्दा पनि पार्टीभित्रको गुट–उपगुट र जुँगाको लडाइँले आन्तरिक रूपमा इतिहासकै कमजोर अवस्थामा पुगेको कांग्रेसलाई आफ्नो पार्टीलाई बलियो बनाउन १४औं महाधिवेशन अवसरको रूपमा आएको छ । निर्वाचनको गणितीय हिसाबमा संसद्मा सानो आकारमा खुम्चिए पनि शासन सत्ताको नेतृत्व गर्ने अवस्थामा पुगेको कांग्रेसले अधिवेशनबाट पार्टीलाई थप एकताबद्ध र मजबुत बनाउने अवसर त छँदैछ, शासन सत्ताबाट आम जनताको सुख समृद्धिमा थप इँटा थप्ने अवसर पनि जुरेको छ । तर, यस अवसरको सदुपयोग हुनसक्ने सम्भावना क्षीण देखिन्छ ।

नेपालका राजनीतिक दल र नेताहरूको एकथोक भन्ने अर्थोक गर्ने बानीबाट वाक्क भएका नेपाली जनतालाई राहत दिने अवसर नेकाले गुमाउँदैछ । यसअघि पटक–पटक तुलनात्मक रूपमा स्वच्छ निष्पक्ष निर्वाचन गराएर प्रशंसा बटुलेको कांग्रेसले फेरि स्थानीय, प्रदेश र संघीय तीन तहको निर्वाचन गराउने अवसर पाएको छ । खासगरी १४औं अधिवेशनको मुखमा रहेको कांग्रेसलाई आफ्ना कार्यकर्ताहरूको मात्र हैन आम नेपालीको भरोसा योग्य पार्टी बनाउन सक्ने नेतृत्व चयन गर्ने अवसर छ । तर, यस्ता सबै अवसरलाई सदुपयोग गर्ने चातुर्य प्रधानमन्त्री तथा नेका सभापति शेरबहादुर देउवामा देखिएन ।

प्रतिक्रिया दिनुहोस्