कतार पठाउन चलखेल



कतारमा आगामी वर्ष आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले १० हजार कतार प्रहरीमा र १२ हजार सुरक्षा गार्डमा नेपाली युवालाई रोजगारी दिने घोषणा गरेको पनि थुप्रै भइसक्यो । तर, वैधानिक रूपमा अझै प्रक्रिया अगाडि बढ्न सकेको छैन । कतार सरकारले नेपाल सरकारसँग सीधै सरकार–सरकार (जी टु जी) प्रक्रियामार्फत् नेपाली युवालाई लैजान खोजेको भए पनि नेपाल सरकारमा सामेल भएकाहरू आर्थिक प्रलोभनमा परेपछि मानवतस्करहरू सलबलाउन थालेका छन् । कतार सरकारले फ्रि भिसा फ्रि टिकटमा नेपाली युवालाई रोजगारी दिने घोषणा गरे पनि नेपाल सरकारले उक्त प्रक्रियामा म्यानपावर व्यवसायीहरूलाई सामेल गराएर आर्थिक चलखेल गर्न लागेको भन्दै मुलुकभर सरकारको तीव्र विरोध भए पनि सरकार अझै पनि उक्त प्रक्रियामा मानव तस्करहरूलाई नै सामेल गराउने तयारीमा लागेको छ । अहिले विभिन्न म्यानपावर कम्पनीहरूले कतार प्रहरीका लागि भन्दै धमाधम अन्तर्वार्ता गरिरहेको भए पनि प्रशासन भने मौन बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नै यसमा मानव तस्करहरूलाई संरक्षण गरेको आरोप लागेको भए पनि सरकारबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआउनुले यसमा सरकारको संलग्नता रहेको हो कि भन्ने आशंका पैदा गराइदिएको छ । अहिले प्रतिव्यक्ति १० देखि १२ लाखसम्म लिएर युवाहरूलाई विदेश पठाउने गिरोह सक्रिय रहेको छ । तर नियामक निकाय वैदेशिक रोजगार विभाग र नेपाल प्रहरी भने कसैले उजुरी नगरेको भन्दै यस प्रक्रियालाई वैधानिकता दिनेतर्फ उद्यत भएको देखिन्छ । यस अघि बिनाउजुरी विभिन्न म्यानपार कम्पनीमा छापा मारेको विभाग र प्रहरी अहिले भने उजुरी कुरेर बस्नुले उनीहरूको नियतमाथि प्रश्न उठाउने ठाउँ प्रशस्त रहेको छ । तर विचौलियाको सेटिङमा परेको सरकारले गरिब नेपालीलाई चुस्ने दलालहरूलाई संरक्षण गरेको आरोप लाग्दासमेत सरकारले केही कदम नचाल्नुलाई भने उनीहरूको नियतमा प्रश्न उठाउने ठाउँ रहेको देखिन्छ ।

लाजिम्पाटमा कार्यालय रहेको अल ताक्वेत ओभरसिजले अहिले कतार प्रहरीमा भर्नाका लागि भन्दै धमाधम अन्तर्वार्ता सञ्चालन गरेको भए पनि उक्त कम्पनीमाथि कारबाही गर्न सरकार डराइरहेको देखिन्छ । किन यस्तो भइरहेको छ अहिले सर्वत्र प्रश्न खडा भएको छ । सो कम्पनीले अहिले गरिब नेपालीसँग ७ लाखदेखि १० लाखसम्म रकम असुल गर्दै आएको गुनासो आए पनि प्रहरी प्रशासन भने रमिते बन्दै आएकाले यसमा सबैको मिलेमतो रहेको प्रष्ट हुन्छ । यस प्रकरणमा प्रधानमन्त्री पत्नीको समेत नाम मुछेर मानव तस्करहरले आफ्नो स्वार्थ पूरा गर्न लागेको समाचार बाहिर आउँदासमेत उहाँहरूबाट कुनै प्रतिक्रिया नआउनुले पनि उहाँको समेत संलग्नता रहेको हो कि भन्ने आशंका पैदा गरेको छ । मानव तस्करहरूले नजिकिँदो चुनावलाई मध्यनजर राखेर नेताहरूलाई आफ्नो हातमा लिने काम गर्नुले पनि नेताहरू पनि यस अवैध क्रियाकलापमा संलग्न त रहेका होइनन् भन्ने आशंका पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस्